ललिता निवासको जग्गामा भवन निर्माण कार्य रोक्का गर्न काठमाण्डौं महानगरपालिकाको निर्देशन


काठमाण्डौं महानगरपालिले ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने भएको छ । महानगरपालिले सो स्थानमा जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्न निर्देशन दिएको हो । ललिता निवासको जग्गामा विवाद चलिरहँदा महानगरपालिले यस्तो निर्देशन दिएको हो । 

कसैले उल्लेखित क्षेत्र भित्रका जग्गामा भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइने पनि महानगरद्वारा जारी सूचनामा भनिएको छ । भत्काउँदा लागेको खर्च समेत सम्बद्ध घरधनीबाट सरकारी बाँकी सरह असुल उपर गरिने महानगरले जनाइएको छ ।

यता  महानगरपालिकाका मेयर बालेन शाहले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन् ।

महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो। त्यसको विरोध हुन थालेपछि उनले सौन्दर्य जोगाउन सवारी साधन प्रवेशमा रोक लगाएको बताएका हुन् । मेयर बालेनले सामाजिक सञ्जालमा परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यस्तो गरिएको बताएका छन् ।

‘काठमाण्डौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण हो। यही हेर्न, अनुभव गर्न र रमाउन लाखौं पर्यटकहरू आउँछन् । वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौं पर्यटकहरू आउने र लाखौं आउन सक्ने सम्भावना छ। यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसरभित्र सवारी साधनहरूलाई निषेध गरिएको छ,’ उनले भनेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।