धितोपत्र बोर्डले दियो पाँच कम्पनीलाई साढे पाँच अर्बको आईपीओ बिक्री अनुमति

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाँच कम्पनीलाई ५ अर्ब ५२ करोड ४७ लाख २ हजार २२० रुपैयाँ बराबरको सेयर बिक्रीको अनुमति दिएको छ ।

दुई इन्स्योरेन्स र एक हाइड्रोपावर गरी तीन कम्पनीलाई प्रिमियम मूल्यमा र एक कम्पनीलाई प्रतिकित्ता ५० रुपैयाँ अंकित दर तथा एक कम्पनीलाई अंकित मूल्यमा सेयर बिक्रीको अनुमति दिएको हो ।

बोर्डका अनुसार हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडलाई असार १७ गते आइतबार ५० रुपैयाँ दरका २९ लाख २५ हजारकित्ताका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर निष्कासनको अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको १२.५० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नेछ । कम्पनीलमा संस्थापकहरुले १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँको सेयर लगानी रहेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी मिड सोलु हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि जारी पुँजीको २० प्रतिशतले हुन आउने १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता सेयर निष्कासनका लागि सेबोनबाट असार १८ गते सोमबार अनुमति पाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी असार १८ गते नै आईपीओ निष्कासनका लागि माण्डू हाइड्रोपावरले पनि अनुमति पाएको छ । कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले ३३ करोड ७० लाख ९२ हजार २२० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ३७० कित्ता सेयर बिक्रीका लागि अनुमति पाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै आज असार १९ गते मंगलबार सन् नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड दुबै कम्पनीले प्रिमियम मूल्यमा सेयर बिक्रीको अनुमति पाएका छन् ।

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । मंगलबार कम्पनीले २ अर्ब २२ करोड ७६ लाख ८० हजार रुपैयाँ मूल्यको ९६ लाख कित्ता सेयर बिक्रीको लागि अनुमति पाएको हो । कम्पनीले आम सर्वसाधारणका र वैदेशिक रोजगारीमा रहेकालाई ९१ लाख २० हजार कित्ता प्रिमियम मूल्यमा सेयर बिक्री गर्नेछ भने कम्पनीले कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता सेयर भने अंकित मूल्यमा नै जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । मंगलबार कम्पनीले २ अर्ब ६६ करोड ४० लाख मूल्यको १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्रीको लागि अनुमति पाएको हो । कम्पनीले आम सर्वसाधारणका र वैदेशिक रोजगारीमा रहेकालाई १ करोड ६ लाख ८७ हजार ५०० कित्ता प्रिमियम मूल्यमा सेयर बिक्री गर्नेछ भने कम्पनीले कर्मचारीहरुका लागि ५ लाख ६२ हजार ५०० कित्ता सेयर भने अंकित मूल्यमा नै जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।