झापाका हात्ती पीडितले पाए सात करोड १६ लाख राहत

झापाका हात्ती पीडितले पाए सात करोड १६ लाख राहत

झापामा १२ वर्षमा मानव र हात्तीबीचको द्वन्द्वमा पीडित बनेका तीन हजार ९९२ जनालाई राहत उपलब्ध गराइएको छ । जङ्गली हात्तीको आक्रमणमा मृत्यु, घाइते र धनमालको क्षति भएका परिवारलाई सरकारका तर्फबाट ७ करोड १६ लाख २७ हजार ७१९ रुपैयाँ राहत रकम वितरण गरिएको हो ।

आर्थिक वर्ष २०६८/६९ देखि २०७९/८० सम्मको अवधिमा मानव–हात्तीद्वन्द्वबाट मृत्यु, घाइते र बाली क्षति भएका तीन हजार ९९२ जनालाई सात करोड १६ लाख २७ हजार ७१९ रुपैयाँ बराबरको राहत वितरण गरिएको जिल्लास्थित डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिएका छन् । उनका अनुसार राहतमध्ये आधाभन्दा बढी रकम भौतिक संरचना र बाली क्षति भएका परिवारले पाएका छन् ।

“सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ भने घाइतेको अवस्था अनुसार उपचार खर्च व्यहोर्दै आएको छ । भौतिक सम्पत्ति र बालीको क्षति मूल्याङ्कन गरेर राहत दिने गरिएको छ”, सूचना अधिकारी पुरीले भने ।

हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई तत्कालै काजकरिया खर्चबापत ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने गरिएको कार्यालयका प्रमुख मेघराज राईले बताए । बाँकी नौ लाख ५० हजार रुपैयाँ कागजी प्रक्रिया पुर्याएपछि दिने गरिएको उनले बताए ।

प्रमुख राईका अनुसार घाइते व्यक्ति गम्भीर अवस्थामा भए अधिकतम् दुई लाख रुपैयाँसम्म उपचार खर्च सरकारले व्यहोर्ने गरेको छ । “घरमा क्षति भए २० हजार रुपैयाँसम्म र बाली क्षति भए १० हजार रुपैयाँसम्म पीडितलाई राहत दिने गरिएको छ”, उनले भने, “विगत १२ वर्षमा सबैभन्दा बढी राहत आव २०७८/७९ मा वितरण भएको छ ।”

आव २०७८/७९ मा मृतकका परिवारलाई ७९ लाख ५० हजार, घाइतेलाई पाँच लाख ७४ हजार ७६ र धनमाल क्षति भएकालाई ४१ लाख २४ हजार ९०० रुपैयाँ गरी कूल एक करोड २६ लाख ४८ हजार ९७६ रुपैयाँ राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ । यस वर्ष चार सय ४० जनाले राहत पाएका थिए ।

कार्यालयका प्रमुख राईका अनुसार चालु आव २०७९/८० मा ५१४ जनाले राहतबापत कूल एक करोड ११ लाख ३७ हजार ७०० रुपैयाँ प्राप्त गरेका छन् । चालु आवमा हात्तीको आक्रमणमा आठ जनाको मृत्यु भएकोमा पाँच जनाले राहत पाइसकेका छन् । अरुको राहत प्रक्रियामा छ ।

कार्यालयको अभिलेख अनुसार विगत १२ वर्षमा हात्तीबाट सम्पत्ति, चौपाया र अन्नबाली क्षति भएका परिवारले राहतस्वरुप तीन करोड ९१ लाख १२ हजार ९४१ पाइसकेका छन् । त्यस्तै, सोही अवधिमा हात्तीबाट मृत्यु भएकाको परिवारले दुई करोड ८३ लाख ८५ हजार रुपैयाँ र घाइते भएकाको परिवारले ४१ लाख ६४ हजार ७७८ रुपैयाँ राहतस्वरुप प्राप्त गरेका छन् । आव २०७२/७३ मा सबैभन्दा बढी ९१९ जनाले राहत पाएका थिए ।

एक वर्षमा आठ जनाको मृत्यु

चालु आव २०७९/८० मा हात्तीको आक्रमणमा परी झापामा आठ जनाको मृत्यु भएको छ । हात्तीले खेतबारीमा काम गर्दा, घरमा सुतेका बेला, काम विशेषले हिँडिरहेका बेला र जङ्गलमा गएका बेला मानिसलाई आक्रमण गरेको पाइएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिए। उनका अनुसार यस वर्षको असारमा हात्तीको आक्रमणमा तीन जनाले ज्यान गुमाएका छन् । मृतकहरु मेचीनगर–१० की ८० वर्षीया अन्नाकुमारी साह, दमक–३ की ४५ वर्षीया कमैया राई र भद्रपुर–७ का ५२ वर्षीय गिरेन कर्मकार रहेका छन् ।

त्यस्तै, गत पुसमा शिवसताक्षी–११ का ६१ वर्षीया कृष्णामाया भण्डारी र वैशाखमा बुद्धशान्ति–४ का ७० वर्षीय भीमबहादुर भट्टराईको हात्तीको आक्रमणमा मृत्यु भएको थियो । पुसमा नै बाह्रदशी–१ का ३७ वर्षीय जगतबहादुर भुजेल, भदौमा बुद्धशान्ति–५ का ३७ वर्षीया सम्झना श्रेष्ठ, भदौमा बाह्रदशी–२ का देबीबहादुर अधिकारीको हात्तीको आक्रमणमा मृत्यु भएको सूचना अधिकारी पुरीले जानकारी दिए ।

हात्तीपीडित परिवारलाई स्थानीय पालिका र सामुदायिक वन कार्यालयले समेत आफ्नै कार्यविधि बनाएर सोही अनुरुप राहत रकम प्रदान गर्दै आएका छन् । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ असार २०८०, बिहीबार १६ : ४८ बजे