आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


आईएमई लाइफ इन्स्योरेन्सले बिहीबारदेखि निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ ।

इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्काशन गरेको थियो ।

इन्स्योरेन्सले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्न गरेको थियो। जसमा १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

सर्वसाधारण लगानीकर्ताले ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको छ । आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।