अमेरिकी सहायक विदेश मन्त्री लू र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

अमेरिकी सहायक विदेश मन्त्री लू र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदबीच  शिष्टाचार भेटवार्ता भएकाे छ ।

एक दिने नेपाल भम्रणका लागि आज काठमाण्डौं आइपुगेका सहायक विदेशमन्त्री लूले सभापति देउवासँग उनकै निवासमा  र परराष्ट्रमन्त्री साउदसँग मन्त्रालयमा  भेटवार्ता भएको हाे ।

सभापति देउवाले लूसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गरेको उनको सचिवालयले जनाएको छ । सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरे । 

यस्तै परराष्ट्रमन्त्रीसाउदसँग भएकाे भेटमा अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने र सोपश्चात् पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगलाई निरन्तरता दिने विषयमा उनीहरूबीच छलफल भएको थियो । साथै द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को सङ्कटमा प्राप्त भएको विशेष सहयोगका लागि अमेरिकाप्रति कृतज्ञता व्यक्त गरे । सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले अमेरिकामा ठूलो सङ्ख्यामा रहेका नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्याएको योगदान र उनीहरूले हासिल गरेको प्रगतिको प्रशंसा गरे । सो अवसरमा उनीहरूबीच दुई देश बीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्षमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्त्वबारे चर्चा भएको थियो ।

सहायक विदेशमन्त्री लूले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार १८ : २९ बजे