ललिता निवास प्रकरणः अनुसन्धान गर्न पाँच दिन म्याद थप

ललिता निवास प्रकरणः अनुसन्धान गर्न पाँच दिन म्याद थप

ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आरोपीलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारी सहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि सीआइबीले अनुसन्धान सकेर तीन सय जना विरुद्ध मुद्दा चलाउनुपर्ने राय सहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो ।

त्यसपछि अहिले पुनः सीआइबीले अनुसन्धान थालेको हो । आरोपीमध्ये १७ जनाले थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वोच्चबाट अन्तरिम आदेश ल्याएपछि सीआईबीले त्यसको खारेजीको माग सहित भ्याकेट निवेदन दिएको छ । केही आरोपीहरूले भने बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ असार २०८०, आइतबार १९ : २७ बजे