नवलपुरमा नयाँ उद्योग खुल्ने दर घट्यो, २६ अर्ब बढी राजस्व

नवलपुरमा नयाँ उद्योग खुल्ने दर घट्यो, २६ अर्ब बढी राजस्व

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नयाँ उद्योग खुल्ने दर उल्लेख्य रुपमा घटेको छ । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८-७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको छ ।

पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८/७९ मा १ हजार ५० नयाँ उद्योग दर्ता भएका थिए । तर गत आर्थिक वर्षमा भने जम्मा ४३८ नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरका प्रमुख सागर खनालले बताए ।

गतवर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योग धेरै रहेका छन् । गत वर्ष आर्थिक वर्षमा नयाँ उद्योग दर्तामा कमी आउनु प्रमुख कारण देशको पछिल्लो आर्थिक अवस्थाको असर भएको कार्यालय प्रमुख खनालले बताए । नयाँ उद्योग दर्ता र सञ्चालनको लागि आर्थिक प्रभावको अवस्था प्रतिकुल हुँदै गएकाले यस्तो अवस्था आएको हुनसक्ने उनले बताए ।

“पछिल्लो समय आर्थिक अवस्था त्यति अनुकुल छैन्, यसले गर्दा पनि नयाँ उद्योग दर्तामा कमी आएको हुनसक्छ । औद्योगिक उत्पादनले बजार नपाउने समस्याका कारणसमेत नयाँ उद्योग स्थापनामा त्यति उत्साही भएका देखिँदैनन्”, खनालले भने । नयाँ उद्योग दर्तासहित पुराना खारेजी गर्ने क्रमसमेत बढेको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा ७५ पुराना उद्योग खारेजी भएका थिए । आर्थिक वर्ष २०७८-७९ मा ६४ र आव २०७७/७८ मा ४५ उद्योग खोजी भएका थिए । वाणिज्य व्यवसाय दर्तामासमेत गत आर्थिक वर्षमा धेरै कमी आएको छ । गत आर्थिक वर्षमा जम्मा चार सय ८२ नयाँ वाणिज्य व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा १ हजार १५८ नयाँ वाणिज्य व्यवसाय दर्ता भएको उद्योग तथा पर्यटन कार्यालय नवलपुरको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्क अनुसार नवलपुरमा नयाँ थपिएका उद्योगसहित जम्मा उद्योगको सङ्ख्या ६ हजार सात सय ४७ रहेको छ । वाणिज्य तर्फ भने ८ हजार ७९८ उद्योग रहेका छन् ।

आर्थिक मन्दिकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बैकुण्ठ अर्यालले बताए । उद्योग स्थापनासहित बजारीकरणको समस्या, लगानीका लागि उचित वातावरण नहुँदा यस क्षेत्रमा निराशा छाउन थालेको उनको भनाइ छ । पछिल्लो पटक बैंकको चर्को ब्याज दरका कारणसमेत उद्योग लगानी र उद्योग सञ्चालनमा समस्यामा परेकाले जिल्लामा समेत नयाँ उद्योग दर्तामा कमी आएको अर्याल बताउँछन् ।

नवलपुरमा उठ्यो २६ अर्ब बढी राजस्व

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा २६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको छ । कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजव सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए ।
उक्त कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ २५ अर्ब १६ करोड ९१ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी आय कर ६३ करोड ९८ लाख ५५ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर ३८ करोड २५ लाख ६५ हजार रुपैयाँ, ब्याज ६ करोड १३ लाख ७३ हजार रुपैयाँ, स्वास्थ्य सेवा कर ४ करोड ३० लाख २० हजार रुपैयाँ, घर बहाल कर १ करोड ५३ लाख ४४ हजार रुपैयाँ सङ्कलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए ।

आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यालयले कूल ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा कम २६ अर्ब ३१ करोड १२ लाख ७४हजार ९८१ दशमलव (८९ प्रतिशत) राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत पन्थीले बताए ।

कूल लक्ष्यको ९६ प्रतिशत अन्तःशुल्कतर्फ मात्रै राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिए पनि अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तःशुल्क सङ्कलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा असर परेको प्रमुख कर अधिकृत पन्थीले बताए । “अर्थतन्त्रमा आएको सङ्कुचनले आम्दानीमा कमी, घरजग्गा लगायत कारोबारमा कमी हुँदा खपतमा समेत कमी आयो, यसले राजस्व सङ्कलनमा समेत केही कमी देखिएको छ”, प्रमुख कर अधिकृत पन्थीले भने ।

लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही कम देखिए पनि देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको उनको भनाइ थियो ।  आर्थिक वर्ष २०७८-७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८-७९ मा २४ अर्ब ११ करोड १२ लाख १ हजार रुपैयाँ राजस्व सङ्कलन भएकामा गत आर्थिक वर्षमा २ अर्ब २० करोड ७२ हजार रुपैयाँ राजस्व बढी सङ्कलन भएको थियो ।-रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ साउन २०८०, मंगलबार १८ : १९ बजे