कञ्चनपुर भन्सारबाट लक्ष्यको ७१ प्रतिशत राजस्व संकलन

0
Shares

मन्दी र आयात घटेका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । गत आर्थिक वर्ष २०७९/८० मा भन्सार कार्यालयले वार्षिक  ५८ करोड ९० लाख राजस्व सङ्कलनको लक्ष्य लिएको भए पनि ४२ करोड १० लाख मात्रै सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले वार्षिक लक्ष्यको ७१.४ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए । “आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व सङ्कलनमा कमी आएको हो”, उनले भने, “मुलुकमा रहेको आर्थिक तरलताको असर पनि राजस्व सङ्कलनमा परेको छ ।”

उनले अघिल्लो आवमा पनि रु ६ करोड राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको बताए । अघिल्लो वर्ष भन्सारले ५२ करोड ७७ लाख राजस्व सङ्कलन गर्नुपर्नेमा ४६ करोड २२ लाख सङ्कलन गरेको थियो ।

गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी लगायतका सामग्रीहरु भारतबाट आयात हुने गरेको छ ।महाकाली नदीमा रहेको शारदा ब्यारेक बनबासा पुल सीमित समय खुल्ने गरेको र ठूला चारपाङ्ग्रे सवारीसाधन पुलमा आवागमनमा समस्या भएकाले यहाँबाट अन्यत्रजस्तो ठूलो परिणाममा आयात नहुने गरेको भन्सार कार्यालयको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।