दुई जलविद्युत कम्पनी हकप्रद अनुमति माग्दै धितोपत्र बोर्डमा

0
Shares

सिंगटी हाइड्रो इनर्जी लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्रीगर्न अनुमति मागेका छन् । दुबै कम्पनीले विद्यमान १ सेयर बराबर १ अर्थात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनमुति मागेका हुन् ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अनुसार सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा एक अर्ब ४५ करोड मूल्यको १ करोड ४५ लाख कित्ता सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले असार २७ गते सेबोनमा निवेदन दिएको हो ।

सिंगटीले अन्य जलविद्युत् आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । सेबोनबाट निष्कासन स्वीकृति पाएपछि मात्रै कम्पनीले सर्वसाधारणमा हकप्रद बिक्री गर्न पाउनेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ छ । हकप्रद जारीपछि कम्पनीको पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद बिक्री गर्न कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

यस्तै हिमालय उर्जा विकास कम्पनी लिमिटेडले पनि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै असार ३१ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

हिमालय उर्जाले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरमा ९९ करोड मूल्यको ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो ।
बोर्डले आवश्यक अध्ययन गरी बिक्री अनुमति दिएपछि मात्रै कम्पनीले बुकक्लोज तोकेर हकप्रद बिक्रीमा ल्याउनेछ । हाल ९९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शतप्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पुँजी बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद बिक्री गर्न कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

जलविद्युत क्षेत्रको नियामक विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीहरूलाई कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद सेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम पछिल्लो समय जलविद्युत क्षेत्रमा हकप्रद सेयर बिक्री गर्ने लहर नै चलेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।