भगवती हाइड्रोको आईपीओमा विदेशमा रहेकाले आजसम्म आवेदन दिनु पर्ने, स्थानियलाई समय थप


भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा निष्काशन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन पाउने छन् ।

स्थानियको लागि भने समय थप गरिएको छ । स्थानिय बासिन्दाले साउन २२ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीले पहिलो चरणमा आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

यस्तै ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको ८५ हजार ८१० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । सेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने छन् ।

कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र रोजगारीमा गएकाहरुले सेयर बिक्री गरेपछि आम सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीका सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको बारेमा

कम्पनीले कास्की जिल्लाको विजयापुर खोलामा ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ ।
आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४.१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।