ललिता निवास प्रकरण: नक्कली मोही बनेको आरोपमा दुई पक्राउ

0
Shares

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा आज ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ। 
 
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ललितपुर निवासी सञ्जयकुमार महर्जन र अर्का सकुलानन्द महर्जन रहेका छन् । उनीहरुसँगै अहिलेसम्म सीआईबीले २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघि आइतबार पनि प्रहरीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
 
यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहितका व्यक्तिहरु पक्राउ परिसकेका छन् । उनीहरुविरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 
विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि सीआईबीले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो । त्यसपछि अहिले पुनः सीआईबीले उक्त मुद्दामा अनुसन्धान गरिरहेको छ ।
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।