अप्पर लोहोरे हाइड्रोको आइपीओमा साउन १८ गतेदेखि आवेदन दिन सकिने


अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ (बिहीबार)देखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागी आइपीओ गर्ने भएको हो ।

कम्पनीले १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुले बाँडफाँड गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले साउन १८ गतेदेखि २२ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा निष्काशन अवधि साउन ३२ गतेसम्म लम्बिने छ ।

इच्छुक आवेदनकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

कम्पनीको बारेमा

कम्पनीले माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाबाट ४ मेगावट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.८४ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति ३१ वर्ष बाँकी रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।