पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हतुवागढीमा दिमालुङ स्मारक उद्यान

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हतुवागढीमा दिमालुङ स्मारक उद्यान

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान निर्माण गरिएको हो ।

किरात राईको आस्थाको केन्द्रको रुपमा रहेको वडा नं २ र ३ मा पर्ने सो स्थानमा कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, भवन तथा सहरी विकास कार्यालय धनकुटाको २ करोड ८ लाख र गाउँपालिकाको ३ लाख लगानीमा दिमालुङ उद्यान निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा निर्माण थालिएको गरिएको पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ । “किरात संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोडेका छौँ । यसबाट संस्कृतिको संरक्षणसँगै यहाँको पर्यटन प्रवर्द्धन मा टेवा पुग्ने विश्वास छ”, अध्यक्ष राईले भने ।

यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ । यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिका छन् । यहाँ रहेको किरात राईको तिहास बोकेको विषेश खालको दिमालुङ ढुङ्गाको संरक्षण गर्दै उद्यान निर्माण गरिएको हो ।

राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हो । त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो । किरात समुदायले वर्षमा दुई पटक यस क्षेत्रमा साकेन्वा नाच्ने र पुज्ने गरेका छन् ।

दिमालुङ उद्यानको आवश्यक व्यवस्थापनका लागि प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको ७ लाखमा थप काम गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

पाल्पामा पर्यटकीय गन्तव्य पहिचान गर्न पदयात्रा अभियान

पर्यटकीय क्षेत्रको विकास गर्न पाल्पामा पदयात्रा कार्यक्रम सुरु गरिएको छ । ओझेलमा परेका पाल्पाको तानसेनमा पर्यटन क्षेत्रको सम्भावना बोकेका क्षेत्रको खोजी गर्दै पदयात्रा अभियान कार्यक्रम थालनी भएको हो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले साउन महिनाको प्रत्येक शनिबार पर्यटकीय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम सुरु गरेको हो ।

पहिलो दिन तानसेनबाट चण्डी भञ्ज्याङ हुँदै बौघापोखराथोकसम्म पदयात्रा गरिएको छ । साउन महिनाको पहिलो शनिवारबाट पदयात्रा अभियान थालनी गरिएको नाट्टा च्याप्टर पाल्पाका अध्यक्ष राजीवकुमार शाहले बताए ।
उनी भन्छन्, “प्रचुर सम्भावना बोकेका धेरै ठाउँ छन्, विकास अभाव, प्रचारप्रसार नहुँदा ओझेलमा परिरहेका छन्, ती क्षेत्रको विकास गरी मुख्य पर्यटकीय गन्तव्यस्थल बनाउन पदयात्रा अभियान कार्य सुरु गरिएको छ ।” उनका अनुसार यो अभियान साउन महिनाको प्रत्येक शनिबार गरिनेछ । तानसेनमा रहेको भगवती मन्दिरमा पदयात्राको शुभारम्भ गरी अभियान अगाडि बढाइएको छ ।

पदयात्रा अभियानले पाल्पामा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्र तथा ओझेलमा परेका, पर्यटनको प्रचुर सम्भावना बोकेका क्षेत्र पहिचान गर्न सघाउ पुग्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ बताउँछन् ।

“पर्यटकीय क्षेत्रको सोधखोज नहुँदा सम्भावना बोकेका धेरै स्थान ओझेलमा परेका छन्, पौराणिक ऐतिहासिक, धार्मिक क्षेत्रसँग जोडिएका महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास र विस्तारमा तानसेन नगर सरकारले सहयोग गर्नेछ”, नगर प्रमुख श्रेष्ठले भने ।

पदयात्राको पहिलो दिन पाल्पाका तत्कालीन तैनाथवाला प्रताप शमसेरले तानसेन बजारको खानेपानीको लागि बनाउन लगाएको चण्डीभञ्ज्याङमा रहेको एक सय वर्ष अघि बनेको सुरुङको अवलोकन गरिएको छ । त्यहाँबाट बौघापोखराको थाम्केडाँडामा पदयात्रा टोली पुगेको थियो । थाम्केडाँडाबाट मनोरम हिमशृङ्खलाका साथै, कालीगण्डकी नदी र नदी आसपाससँग जोडिएका सुन्दर बस्ती अवलोकन गरिएको छ । सोही ठाउँमा रमणिय दृश्य अवलोकन गर्न ट्रि हाउस, एडभेन्चर स्विङ पनि रहेको छ ।

नाट्टा लुम्बिनी अध्यक्ष रचना पन्त, वरिष्ठ उपाध्यक्ष चन्द्र थापा, बोर्ड सदस्य प्रदीपकुमार पोखरेलसहित नाट्टा पाल्पा च्याप्टरका पदाधिकारी तथा सदस्य र पर्यटन क्षेत्रसँग आबद्ध व्यक्ति, जनप्रतिनिधि, सरोकारवालाको सहभागीतामा पदयात्रा सुरु गरिएको हो ।

पाल्पा अवलोकन गर्न आउने पर्यटक तानसेन, श्रीमनगरडाँडा, भैरवस्थान मन्दिर, रानीमहल, रिडी क्षेत्र धेरै पुग्ने गर्दछन् । पौराणिक महत्व बोकेका, पर्यटनमा सम्भावना बोकेका क्षेत्रलाई पर्यटन विकाससँग जोडेर काम गरियो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । यहाँ धेरै पर्यटकीय गन्तव्यस्थल बन्ने ठाउँ छन् । खोजी नहुँदा सधैँ पछाडि परिरहेका छन् । पदयात्रा अभियानले ओझेलमा परेका क्षेत्र बाहिर आउने र पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ साउन २०८०, बिहीबार १० : ५४ बजे