मनकामना इन्जिनियरिङ्गको स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई निष्काशित आईपीओ बाँडफाँड

0
Shares

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको निष्कासन गरेको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको निमित्त निष्काशन गरिएको प्राथमिक सेयर मंगलबार बाँडफाँड भएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम आईपीओ साउन १६ गते मंगलबार बाँडफाँड भएको हो ।

बिओके क्यापिटल मार्केटका अनुसार आयोजना प्रभावित क्षेत्र दोलखाका गौरिशंकर गाउँपालिका बासिन्दालाई माग अनुसार नै सेयर बाँडफाँड भएको हो । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुकोमध्ये २० हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । यो संख्या कुल आवेदकको ७९.३१ प्रतिशत बराबर हो ।

आयोजना प्रभावित क्षेत्रका ७२२ आवेदनलाई माग बमोजिम १ लाख ८३ हजार ३८० कित्ता सेयर बाँडफाँड गरिएको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ लाख १६ हजार ६२० कित्ता सेयर अवितरित भएको छ ।

उता वैदेशिक रोजगारीमा रहेकाबाट २५ हजार २१९ वटा आवेदन प्राप्त भएकोमा २० हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन् । योग्य आवेदन मध्ये ५ हजार २१८ जनाको हात खाली भएको छ । एक जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । वैदेशिक रोजगारीमा रहेकाबाट २५ हजार २१९ वटा आवेदनबाट ६ लाख २६ हजार ८१० कित्ताको माग भएकोमा एक आवेदन मार्फत परेको २० कित्ता रद्द गरी ६ लाख २६ हजार ७९० कित्तालाई बाँडफाँडमा सहभागि गराइएको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँड भएको हो ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि असार १९ गतेदेखि साउन २ गतेसम्म प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त असार १९ गतेदेखि साउन ९ गतेसम्म ८ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने कुल २८ लाख कित्ता सेयर सार्वजनिक निष्कासन गर्नेछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका १० लाख कित्ता सेयर बिक्री खुला गरिएको हो । अब स्थानीयबाट अवितरित ६ लाख १६ हजार ६२० कित्ता र सर्वसाधारणमा जारी हुने १८ लाख कित्ता सहित २४ लाख १६ हजार ६२० कित्ता ( सामुहिक लगानी कोष र कर्मचारीलाई समेत) सेयर बिक्री खुला गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।