कुमारी बैंकको ७ लाख ५९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले ७ लाख ५९ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो ।

बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छन् । बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । सेयरको न्यूनतम मूल्य प्रति सेयर १०५ रुपैयाँ रहेको छ ।

लगानीकर्ताले आज साउन १९ गतेदेखि भदौ १ गतेसम्म दरखास्त बुझाउन सक्ने छन् । बिक्री प्रबन्धकको कार्यालयमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरीद गर्ने हो शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्ने छ ।

 बोलपत्र पेश गर्दा न्यूनतम १,००० कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । ५ लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नं. आवेदन फाराममा उल्लेख गर्नु पर्नेछ ।

आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप लगाएको आवेदन फाराम खरीद गरी लिनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बाँडफाँडमा समावेश गरिने छैन । बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको सेयर संख्या तथा आफूले कबोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।