साल्ट ट्रेडिङ्गको ब्यापारसँगै खुद नाफा ५८ प्रतिशत बढ्यो

0
Shares

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ब्यापारमा आएको वृद्धिसँगै खुद नाफा पनि बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५८.०५ प्रतिशतले वृद्धि गर्दै ७ करोड ८८ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ करोड ९८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । ब्याजखर्चमा भएको उच्च वृद्धिका वावजुत कम्पनीले खुद नाफामा आकर्षक सुधार गरेको हो ।  नाफा बढेसँगै कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ५९ पैसा बढेर २८ रुपैयाँ २६ पैसा पुगेको छ । असारसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ४१९ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १७३.३८ गुणा छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको कुल आय समग्रमा १०.४७ प्रतिशतले बढेको छ । गत आवमा कम्पनीको कुल आय ९५ करोड ५८ लाख ७७ हजार पुगेको छ ।

कम्पनीको बिक्री आय ७ अर्ब १७ करोडबाट २२.४९ प्रतिशत बढेर ८ अर्ब ७८ करोड २९ लाख पुगेसँगै कुल आम्दानीमा पनि सुधार भएको हो । कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्यवस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व बहन गर्दै कारोवार गर्दै आइरहेको छ ।

दश प्रतिशत बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी बढेर २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड ५६ लाख ५७ हजार रुपैयाँ सञ्चित छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड २० लाख अर्थात ४.७६ प्रतिशतले बढी हो ।

विद्यमान बैंकिङ तरलता समस्या, देशको समग्र आर्थिक अवस्थाको कारण तथा कर्पोरेशनले नेपाल सरकारको निर्देशन समेतको पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेको कारण कुनै वस्तुहरुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण कर्पोरेशनले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकिरहेको जनाएको छ ।  राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा आउने आर्थिक उतार चढाव मुलुकमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक परिस्थितिहरु तथा अस्वस्थ व्यापारीक प्रतिस्पर्धा एवं हाल विश्वलगायत नेपालमा पनि महामारीको रूपमा फैलिएको कोभिङ कोरोना भाइरस को महामारीले कर्पोरेशनको कारोवारलाई समेत असर पारेको जनाइएको छ ।

आगामी दिनमा सरकारको नीतिको अवलम्वन गर्दै एउटा जिम्मेवार संस्थाको रुपमा मुलुकभर गुणस्तरीय बस्तुहरुको आपूर्ति व्यवस्था मिलाउँदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा स्थापित गर्ने रणनीति कम्पनीले बनाएको छ । यस्तै नवीनतम एव सृजनशील कारोवारको खोजी गर्दै व्यापार विविधीकरण तर्फ उन्मुख रहने योजनाको साथ कर्पोरेशन अगाडि बढ्ने सोच बनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।