सूचना प्रविधिमा अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य गर्न इच्छुक छौं: मन्त्री शर्मा


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छिन् ।

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँगको भेटमा मन्त्री शर्माले राष्ट्रिय हितलाई ध्यान दिँदै सूचना प्रविधिको विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको जनाइन् ।

सूचना प्रविधिलाई समृद्धिको प्रमुख आधारको रुपमा नेपाल सरकारले लिएको जानकारी दिँदै उनले नेपाल सरकारले यो वर्षदेखि वार्षिक पुँजीगत बजेटको एक प्रतिशत आविष्कार र नवप्रवर्तनमा लगाउने घोषणा गरेको बताइन् ।

भर्खरै मात्रै साइबर सुरक्षा नीति जारी गरेको उल्लेख गर्दै मन्त्री शर्माले चाँडै साइबर सुरक्षा केन्द्र स्थापना गर्ने तयारीमा रहेको जानकारी दिइन् । अहिले चलिरहेको डाटा सेन्टर स्थापनामा कोरियाले गरेको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले यसलाई थप सुरक्षित र भरपर्दो बनाउन लागिएको जानकारी दिइन् ।

चालु आर्थिक वर्षभित्र सबै वडा तहसम्म इन्टरनेट सुविधा पुर्याउने तयारी गरिएको जनाउँदै मन्त्री शर्माले देशभर फाइभजी सेवा विस्तार गरिने उल्लेख गरिन् । “सबै वडा तहसम्म इन्टरनेट विस्तार गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को हुनेछ”, मन्त्री शर्माले भनीन्, “नेपालको सूचना तथा सञ्चार प्रविधिको विकासका लागि कोरियालगायत अन्तर्राष्ट्रिय समुदायसँग जिटुजी, पिटुपी (सरकार–सरकार, जनता–जनता) सहयोग आदानप्रदान गर्न हामी इच्छुक छौं ।”

भेटमा राजदूत तइयोङले नेपालले साइबर सुरक्षाका लागि पारित गरेको साइबर सुरक्षा नीति र पहल महत्वपूर्ण भएको बताए । कोरिया नेपालमा वैदेशिक लगानी गर्ने चौँथो मुलुक रहेको जानकारी दिँदै उनले सूचना प्रविधि क्षेत्रमा लगानी बढोस् भन्ने कोरियाको चाहना रहेको बताए ।

नेपालमा कोरियाको सरकारी तहबाट मात्र नभइ निजी क्षेत्रबाट पनि ठूलो सहयोग भइरहेको उल्लेख गर्दै सामसुङले पुल्चोक क्याम्पसको ‘इन्नोभेसन सेन्टर’मा सहयोग गरिरहेको जनाए । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।