भगवती हाइड्रोको ७ लाख कित्ता आईपिओमा १३ लाख आवेदन, ९५ प्रतिशतले नपाउने


भगवती हाइड्रोपावरले सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता प्राथमिक सेयर निष्काशन गरेकोमा आवेदकको संख्या १३ लाख नाघेको छ । शुक्रबार निष्काशन बन्द हुँदासम्ममा कम्पनीको आईपिओमा १३ लाख ८८ हजार ११५ वटा आवेदन परेको छ ।

केन्द्रिय निक्षेप प्रणाली (सिडीएससी) का अनुसार शुक्रबार साँझ ५ बजे सेयर निष्काशन बन्द भएपछि उल्लेखित आवेदकले १ करोड ५३ लाख ३ हजार ६५० कित्ता सेयर माग गरेका हुन् ।

१० कित्ताका दरले सेयर बितरण गर्दा ७१ हजार २२२ जनाले मात्र सेयर पाउनेछन् । यस आधारमा कम्पनीको सेयरमा आवेदन गरेका कुल आवेदक मध्ये ९४.८६ प्रतिशत अर्थात १३ लाख १६ हजार ८९५ आवेदकले सेयर पाउने छैनन् । कुल आवेदक मध्ये ५.१३ प्रतिशत आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको १०० अंकित दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी जम्मा रकम ११६ रुपैयाँ दरको ८ लाख ५८ हजार ९७ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता साधारण सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बाँडफाँड गरेको छ ।

यस्तै ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरि १७ हजार १६२ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख १२ हजार २२० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।