माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरण गर्न सकिन्छः अध्यक्ष दाहाल


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताए । उनले भने, “देश रूपान्तरणको नयाँ सङ्कल्प सहित एउटा अभियानको सुरूवात गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ ।” उहाँले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको उल्लेख गर्दै यो अभियान नरोकिने स्पष्ट पारे ।

“नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन”, अध्यक्ष प्रचण्डले भने, “भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ । हामी विरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौं ।” मुलुकको समृद्धिका लागि गुणात्मक विकासको खाँचो औँल्याउँदै उनले विकासको मोडल फेर्नुपर्ने बताए ।

“परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरूरी छ”, उनले भने, “असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौं । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौं ।”

सरकारले मुलुक र जनताको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उनले अब छिट्टै जनताले त्यसको प्रतिफल लिन पाउने बताए । उनले भने, “कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरू भएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईंहरूले जनताको बीचमा लैजानुस् ।”

उपत्यका विशेष प्रदेशमा इन्चार्ज वर्षमान पुनले सरकार र पार्टीका कामलाई व्यवस्थित गर्दै पार्टी रुपान्तरण अभियानमा जुट्नु अहिलेको आवश्यकता भएको बताए । पार्टीभित्र मतभेद, आलोचना भए पनि गुटगत राजनीति गर्न नपाइने भन्दै उनले गुटबन्दी गर्नेलाई अनुशासनको कारबाही हुने बताए । “अब पार्टी पार्टीका रुपमा, सङ्गठन सङ्गठनका रुपमा चल्छन्”, उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ भदौ २०८०, मंगलबार १२ : ०५ बजे