
एशिया कपमा पहिलो पटक खेल्न लागेको नेपालले उद्घाटन खेलमा नै आज विश्वको नम्बर एक टीम पाकिस्तानको सामना गर्दै छ । एशिया कपका चार खेल पाकिस्तानले आयोजना गर्दै छ भने बाँकी खेलहरु श्रीलंकामा हुने छन् ।
एशियाको क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एशिया कपमा नेपाली टीमले पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा यो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार अपराहन्न ३ः१५ देखि सुरु हुनेछ । एकदिवसीय फम्र्याटमा खेलिने एशिया कपको यो १६ औं संस्करण हो ।
नेपालले एशिया कपमा पहिलो पटक आफ्नो सहभागिता जनाउन लागेकाले पनि नेपालमा यसको विशेष चासो रहेको छ । त्यसमा पनि नेपाल भारत र पाकिस्तानको समुहमा रहेकाले नेपाली क्रिकेटप्रेमीहरुबीच चासो बढेको हो । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा आसिफ शेख, ललित राजवंशी, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकालले खेल खेल्नेछन् ।
आजदेखि सुरु हुने एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ ।
एशिया कपका हालसम्मका विजेताहरु
एशिया कपको उपाधिको कुरा गर्दा हालसम्म भारतले सबैभन्दा बढी ७ पटक एशिया कपको उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । भारतले १९८४, १९८८, १९९०(९१, १९९५, २०१०, २०१६ र २०१८ मा एशिया कपको उपाधि जितेको थियो ।
यसैगरी श्रीलंकाले अहिलेसम्मका सबै १५ संस्करणमा भाग लिएर ६ पटक उपाधि जितेको छ भने ६ पटक नै उपविजेता बनेको छ । श्रीलंका एशिया कपको डिफेन्डिङ च्याम्पियन पनि हो । श्रीलंकाले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा एशिया कपको उपाधि आफ्नो पक्षमा पारेको थियो ।
त्यस्तै पाकिस्तानले १४ पटक एशिया कप खेल्दै २ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । पाकिस्तानले २००० र २०१२ मा एशिया कपको उपाधि जितेको थियो ।
बंगलादेश अहिलेसम्म १४ पटक एशिया कपमा सहभागि भएको छ । जसमा ३ पटक उपविजेता बनेको छ । यसबाहेक युएईले ३ पटक एशिया कप खेलेको छ । हङकङले ४ पटक र अफगानिस्तानले ३ पटक एशिया कपमा सहभागिता जनाएका छन् । एशिया कपको इतिहासमा भारतले १९८६ को एशियाकप खेलेको थिएन भने पाकिस्तानले १९९०–९१ मा भारतमा आयोजित एशिया कप खेलेको थिएन ।
अहिलेसम्म खेलिएका १५ संस्करणमा २०१६ र २०२२ गरी दुई पटक टी–२० छनोटको ढाँचा ('फर्म्याट') मा खेलिएको थियो । बाँकी १३ संस्करण एकदिवसीय 'फर्म्याट' मा खेलिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
