भारतमा हुने जी–२० सम्मेलनमा चिनियाँ राष्ट्रपति पनि सहभागी नहुने

भारतमा हुने जी–२० सम्मेलनमा चिनियाँ राष्ट्रपति पनि सहभागी नहुने

भारतको नयाँ दिल्लीमा आयोजना आगामी साता हुने जी–२० सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङले सहभागी पनि नहुने जनाएका छन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमर पुटिनले पनि जी-२० शिखर सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रद्द गरेका थिए ।

सेप्टेम्बर ९ देखि दुई दिनसम्म भारतको नयाँदिल्लीमा चल्ने सम्मेलनमा जी–२० सम्मेलनमा चिनियाँ राष्ट्रपतिका साथै रुसी राष्ट्रपति भलादिमिर पुटिनले समेत आफू सहभागी नहुने भएपछि सि जिङपिङले चिनियाँ प्रधानमन्त्री लि क्वाङ र पुटिनले आफ्नो सट्टामा परराष्ट्रमन्त्री सर्जी लाब्रबलाई सम्मेलनमा सहभागी गराउने बताएका छन् । 

दुई शक्तिशाली राष्ट्रका राष्ट्रपतिहरुले शिखर सम्मेलनमा यसअघि आफू सहभागि हुने बताएपनि सम्मेलन आयोजना हुने लाग्दा भने आफू सहभागि नहुने बताउँदै अर्को प्रतिनिधि तोकेका हुन् ।

सेप्टेम्बर ९ र १० मा आयोजना हुने उक्त सम्मेलनलाई चिनियाँ राष्ट्रपतिले अस्वीकार गर्नुको कारण भने खुलेको छैन । यसअघि दक्षिण अफ्रिकाको ज्वान्सबर्ग सहरमा आयोजित ब्रिक्स राष्ट्रहरुको सम्मेलनमा सी जिङपिङ सहभागी भएका थिए । ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री–नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति– सि जिङपिङबीच बिरलै वार्ता भएको थियो ।

सन् २०२० मा हिमालयन फ्रन्टियरमा २४ सिपाहीको मृत्युपछि भारत र चीनको सम्बन्धमा तनाव बढेको थियो । दुई राष्ट्रका प्रमुखहरुले ब्रिक्स राष्ट्रको सम्मेलनमा बढ्दो तनाव व्यवस्थापनबारे छलफल गरेता पनि तनाव व्यवस्थापन गर्न इच्छा नदेखाएको प्रस्ट देखिन्छ ।

यस्तै पछिल्लो समयमा भूराजनीतिक तथा व्यापारिक विषयहरुका कारण विश्वको शीर्ष अर्थतन्त्र–अमेरिका र दोस्रो ठूलो अर्थतन्त्र–चीनबीच तनाव बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति–जो बाइडेनको समेत सहभागिता रहने जी२० देशहरुको दुई दिवसीय सम्मलेनले चीन र अमेरिकाको बिग्रँदो सम्बन्धमा मिठास भर्न सघाउने आकलन गरिएको थियो । तथापि चिनियाँ राष्ट्रपतिले सहभागी नहुने जानकारी दिएसँगै प्रधानमन्त्री लि क्वाङले दुई देशको सम्बन्धमा सुधार ल्याउने गरी छलफल गर्नेछन् ।

जी–२० सम्मेलन विश्वका विकसित, उदीयमान राष्ट्रहरुको सम्मेलन हो । यस समूह अन्तरगत अमेरिका, चीन, जापान, फ्रान्स, क्यानडा, जर्मनी, बेलायत, भारत, दक्षिण कोरिया, ब्राजिल, साउदी अरेबिया, इटाली, मेक्सिको, अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण अफ्रिका, अर्जेन्टीना, टर्कीए, रुस, युरोपियन युनियन रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ भदौ २०८०, बिहीबार १४ : ११ बजे