अपाङ्ग असहाय बालबालिकाको सहयोगार्थ जेट्सन डोना लामाले नेपालमा सांगितिक प्रस्तुती दिने

अपाङ्ग असहाय बालबालिकाको सहयोगार्थ जेट्सन डोना लामाले नेपालमा सांगितिक प्रस्तुती दिने

चर्चित भारतीय रियालिटी टेलिभिजन शो सारेगमप लिटल च्याम्प्सकी विजेता जेट्सन डोना लामाले अगामी असोज ६ गते नेपालमा सांगितिक प्रस्तुति दिने भएकी छिन् ।

भारतको सिक्कीमकी नेपाली भाषी लामाले साधना कला केन्द्रको आयोजनामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएकी हुन् ।

असहाय तथा शारिरिक रुपमा अशक्त बालबालिकाको सहयोग गर्ने उद्धेश्यका साथ कला केन्द्रले ललितपुरको गोदावरीस्थित सनराइज कन्फ्रेन्स हलमा लामाको एकल प्रस्तुती सहितको कार्यक्रम आयोजना गर्न लागेको हो ।

बाल अपाङ्ग टेवा संस्थाको सहयोगार्थ असोज ६ गते मध्यान्ह १ बजे कार्यक्रमको आयोजना गर्न लागिएको र तयारी तिब्र रुपमा भइरहेको आयोजकले जनाएको छ । साधना कला केन्द्रका संस्थापक अध्यक्ष मिलन मोक्तानका अनुसार १ हजार ५००, २ हजार ५०० र ५ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको कार्यक्रमको टिकट खल्तीबाट लिन सकिन्छ । कार्यक्रमस्थलमा रहने फुडस्टलमा फुडमाण्डूले ५०० रुपैयाँ बराबरको भौचर उपलब्ध गराउनेछ ।

आर्मा फेशन इण्डष्ट्रिज र पाथिभरा डिएम नेपालसँगको सहकार्यमा आयोजना हुने कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, नेपाल वायू सेवा निगम र शहरी विकास कोषले सहयोग गर्नेछन् ।

लामाको सम्मानार्थ आयोजना हुने कार्यक्रमले नेपाल र भारतबीचको संस्कृतिक तथा पर्यटन सम्बन्ध प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । साथै नेपाल भारतबीचको सांस्कृतिक सम्बन्ध अझै प्रगाढ हुने विश्वास पनि आयोजकको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ भदौ २०८०, आइतबार ११ : ५२ बजे