क्यानले ल्यायो साढे ३६ अर्बको बजेट


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ ।

अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे। प्राधिकरणले चालु आवमा १५ अर्ब ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण/सेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब तीन करोड ८८ लाख रुपैयाँ बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा दुई अर्ब ११ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च चार अर्ब ३४ करोड रुपैयाँ र कर्मचारीको बोनसमा पाँच अर्ब ८९ रुपैयाँ विनियोजन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।