तिहारलाई लक्षित गर्दै व्यावसायिक फूल खेती, २० लाख आम्दानी गर्ने लक्ष्य


लहरै रोपिएका सयपत्री फूलका बिरुवाको स्याहारमा जुटेको छ व्यावसायी दशरथ साउद । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पँगेनी र दशरथले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेको छ ।

उनको फूल खेतीमा पुग्दा जो सुकैको मन आनन्दित हुन्छ । तिहार लक्षित गरेर रोपिएका सयपत्री सबैको ध्यान तान्ने भएका छन् । भास्करसँगै व्यवसायमा जोडिएका प्राविधिक सहायक दशरथले फूल खेतीको प्रविधिक पक्ष हेर्ने गरेको छ । कृषि प्राविधिक पढेर कृषिमा लाग्नुभएका दशरथले फूल खेती अवलोकन गर्न आउनेहरूलाई प्राविधिक ज्ञान दिने गरेको छ ।

कपिलवस्तुमा पाँच वर्षपहिले देखि फूल खेती गरिसकेका भास्कर र दशरथले दुई वर्षअघि देखि दाङमा व्यावसायिक फूल खेती विस्तार गरेको छ । दाङको घोराही–१५ भरतपुरमा १७ कट्ठा र घोराही–१२ शिवपुरमा १३ कट्ठा जमिन भाडामा लिएर उनीहरूले व्यावसायिक फूल खेती गरेका छन् ।

गत वर्ष तिहारको समयमा फूलमात्रै १३ लाख रुपैयाँको बिक्री गरेको दशरथले बताए । तिहारभन्दा पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पोर्ट’ बनाएर पाँच लाख रुपैयाँ आम्दानी गरेको उनले जनाए । यसपालि एकै समयमा १५ देखि २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनले बताए ।

गत वर्ष कर्मा ५५५ जातको सयपत्री फूल खेती गरेको थियो भने यसपालि ‘कर्मा त्रिपल एक ओरेन्ज’, ‘कर्मा त्रिपल आठ एल्लो’, ‘कर्मा त्रिपल फाइभ ओरेन्ज’, सेतो हजारी, कलकत्ते ओरेन्जलगायत जातका सयपत्रीका बिरुवा रोपिएका छन् । एक लाख तीन हजार रुपैयाँको बीउ किनेर बेर्ना राखेको दशरथले बताए । सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर बेर्ना उमारेको उनले जानकारी दिए ।

उनले भने, “यसपालि दुई लाख बिरुवा बेर्ना बिक्री भैसक्यो, बिरुवाको जात हेरेर दुई देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ, बेर्ना बिक्री गरेर पनि आम्दानी गर्ने गरेका छौँ ।” कपिलवस्तुमा पहिलेदेखि नै फूल खेती भइरहेको तथा यस वर्षदेखि कोहलपुर र कैलालीमा फूल खेती विस्तार गरिएको उनले जनाए । युवाहरू वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्करको भनाइ छ । बेरोजगार युवाहरूलाई कृषिमा जोड्ने उद्देश्यले उक्त फार्मको नाम नै १०८ राखेको छ ।

फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको उनले बताए । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके आयआर्जनको बलियो आधार हुने उनले जनाए । यसपालि फूल खेतीको क्षेत्र विस्तार गरेकाले उपभोक्ताले केही सस्तो मूल्यमा फूल किन्न पाउने उनको धारणा छ । फूलमा नेपाललाई आत्मनिर्भर गराउने उद्देश्यले विभिन्न जिल्लामा क्षेत्र विस्तारको योजना रहेको भास्करले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।