मनकामना इन्जिनियरिङ्गको आईपीओ सेयरधनीको डिम्याट खातामा जम्मा

0
Shares

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका सम्बन्धीत सेयरधनीको हितग्राही खात (डिम्याट) मा जम्मा भएको छ ।

कम्पनीको धितोपत्र सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भैसकेपछि सीडिएससीले सेयर पाएका २ लाख २७ हजार ६६२ जना लगानीकर्ताको डिम्याट खातामा भदौ २७ गते बुधबार सेयर जम्मा भएको हो । कम्पनीको आईपीओ एमइएचएल (MEHL) सिम्बोलमा डिम्याट खातामा जम्मा भएको छ ।

गत साउन २८ देखि ३१ गतेसम्म बिक्री खुला भएको कम्पनीको आईपीओ भदौ ३ गते बाँडफाँड भएको थियो । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आइतवार बेलुका ५ः३० बजे सेयर बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा कम्पनीको आइपीओ २ लाख २७ हजार ६६२ जनाले मात्रै १० कित्ताका दरले सेयर हात पारेका थिए ।

अब कम्पनीले नेप्सेमा धितोपत्र सूचीकरण सम्झौता भएको दोस्रो कारोबार दिनदेखि नेप्सेमा खरिद बिक्रीमा आउनेछ ।

कम्पनीले साउन २८ देखि ३१ गतेसम्म २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख १६ हजार ५१९ आवेदकले १ करोड ४३ लाख ६ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका थिए । यो सर्वसाधारणको लागि निष्कासनमा ल्याएको २२ लाख ७६ हजार ६२० कित्ता शेयरको ६.२८ गुणा आवेदन परेको थियो ।

बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटका अनुसार कुल आवेदकमध्ये ५ हजार १२ वटा आवेदकबाट माग भएको ८२ हजार ७० कित्ताको माग रद्द भएको छ । १३ लाख ११ हजार ५१७ वटा आवेदनबाट माग भएको १ करोड ४२ लाख २४ हजार ७२० कित्ता सदर भई बाँडफाँडमा सहभागि गराइएको थियो ।

कम्पनीले प्रबर्धन गरिरहेको ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । कुल अनुमानित लागत प्रतिमेगावाट २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.५८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७।७८ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड र जारी पुँजी ८० करोड रुपैयाँ छ । जारी पुँजीको ३५ प्रतिशत सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।