चितवनमा दुई हजार किलो माछा नष्ट

0
Shares

चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।

पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्ने जानकारी दिए । “बिलमा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रतापपुरको सुजु एण्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ । त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन”, उनले भने, “भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्छ ।” अवैधरूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन् ।

लु३च १७९४ नम्बर गाडीमार्फत ‘आइस’मा राखेको माछा काठमाडौँतर्फ लैजान लागिएको थियो । जाँचको क्रममा प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रमुख गौतमले जानकारी दिए । सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उनले बताए । “भौतिकरूपमा हेर्दा माछामा गन्ध आएको छ”, उनले भने, “अवैध र गन्ध आएपछि नष्ट गरेका हौँ ।” अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए । नष्ट गरेको माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँसम्म रहेको गौतमले जानकारी दिए । तर बिलमा एक लाख ६० हजार रुपैयाँ मात्र लेखिएको छ ।

मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैधरूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो । उनले १० महिनाको अवधिमा चितवनमा मात्रै चारपटक अवैधरूपमा भित्र्याइएको माछा नष्ट गरिएको जानकारी दिए ।

बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २ (ख) अनुसार नियमानुसार विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । माछामा आत्मनिर्भर चितवनबाट विभिन्न जिल्लामा माछा निर्यातसमेत हुने गरेको छ । यहाँ करिब पन्ध्र सय किसानले माछा पाल्ने गरेको मत्स्य व्यवसायी सङ्घले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।