मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

0
Shares

नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो ।

टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा करिब ७२ लाख रुपैयाँ लागतमा सूचना केन्द्र निर्माण भइरहेको छ । यस आवमा पनि प्रदेशका ६५ प्रतिशत र गाउँपालिकाको ३५ प्रतिशत लागतमा भवनलाई पूर्णता दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । आधा रोपनी क्षेत्रमा निर्माण भइरहेको सूचना केन्द्रबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षित पदयात्राका लागि सूचना प्रदान गरिने उनको भनाइ छ ।

“मुन्दुम पदमार्ग नेपालकै एक स्थापित पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ”, उनले भने, “यो पदमार्गमा धेरैको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको छ । आउने पर्यटकलाई आवश्यक सूचना प्रदान गर्नका लागि प्रदेश सरकारसँगको सहकार्यमा पर्यटन सूचना केन्द्र निर्माण गरिरहेका छौँ ।”

सूचना केन्द्रलाई यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाइएको छ । दोस्रो चरणको कामका लागि केही समयपछि बोलपत्र आह्वान गरेर काम सुरु गरिने प्रशासकीय अधिकृत न्यौपानेले बताए । “पदमार्गमा आउने पर्यटकको अभिलेखसँगै आवश्यक सूचना दिनका लागि एउटा सूचना केन्द्रको आवश्यकता रहेको छ”, उनले भने, “त्यही भएर यहाँ सूचना केन्द्रको निर्माण गरेका हौँ । कामलाई अन्तिम चरणमा पुर्याएका छौँ । यो आर्थिक वर्षभित्र पूर्णरूपमा सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य छ ।”

टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरूपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा जुटेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । सूचना केन्द्रबाट पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताए । “यो पदमार्ग पूर्वको मुख्य पर्यटकीयस्थल हो” उनले भने, “पर्यटकको सुरक्षित र सहज यात्राका लागि सूचना प्रदान गर्न आवश्यक छ । अबका दिनमा पर्यटकलाई यो सूचना केन्द्रबाट आवश्यक जानकारी प्रदान गछौँँ । यसले यहाँको भ्रमणका लागि आउने पाहुनालाई सहजता थप्ने छ ।”

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटको मनोरम दृश्यावलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको उपाध्यक्ष राईले बताए । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँतहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने उनको भनाइ छ ।

“यो नेपाल सकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल हो”, उनले भने, “यो क्षेत्रमा पदयात्रा गर्न स्वदेश तथा विदेशबाट पर्यटक आइरहेका छन् । यो क्षेत्रमा आउने पर्यटकलाई यहाँको प्राकृतिक सुन्दरताले मोहित पार्ने गर्दछ । यो पदमार्गलाई थप विकासका लागि हामीले योजनाबद्धरूपमा काम गरिरहेका छौँ।”

यहाँका किरात राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने अग्र्यानिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिन्छ । यो पदमार्ग नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थान पनि हो ।

उकालो–ओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक–३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । किरात राईहरूको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरूको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ ।

करिव ६२ किलोमिटर निर्माण सम्पन्न पदमार्गमा २१ वटा विश्रामस्थल, २३ वटा खानेपानी धारा, ५७ वटा ढुङ्गे चौतारा निर्माण गरिएको जनाइएको छ । त्यस्तै किरात राईको संस्कृति झल्कने (चिण्डो आकार)का १५ वटा पोखरी निर्माण गरिएको छ । यहाँको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा टुरिजम हब बनाउने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

पर्यटकीय हिसाबले पैदलयात्रा गर्ने पर्यटकका लागि ‘अल्पाइन जोन’ सन्तुलित हावापानी भएको यो पदमार्ग उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने पर्यटनसँग सम्बन्धित विज्ञहरूको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायीकरण गर्न यो पदमार्गले सहयोग पुर्याउने गाउँपालिकाले जनाएको छ ।

यो पदमार्ग भोजपुर र खोटाङको सिमना तावाभञ्याङ–चखेवा भञ्याङ–धोद्रे–हाँस पोखरी–तारा खसको–बलौटे भञ्याङ–लौरी भञ्याङ–निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते–पखुवा भञ्याङ–बाघखोर–सुन्तले–बाघखोर हुँदै भोजपुर नगरपालिका–१० भैँसीपङ्खाको साम्पाङ चोकमा आएर टुङगिन्छ । यो मुन्दुम पदमार्गले यहाँका वन्यजन्तुको आरक्षण क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना बोकेकाले यहाँको पर्यटन व्यवसाय फस्टाउने सम्भावना रहेको पर्यटनको क्षेत्रका विज्ञहरुको भनाइ छ । –रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।