
सानिमा बैंकको लगानी रहेको सानिमा सेक्यूरिटीज लिमिटेडले प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।
भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको रजिष्टर्ड कार्यालय, पुतलीसडक–२८, काठमाण्डौंमा असोज २६ गते शुक्रबार बिहान ११ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले विशेष प्रस्तावको रुपमा प्रबन्धपत्रमा अन्य कम्पनीको सेयर, डिबेन्चर, बन्ड म्युचुअल फन्ड आदिमा लगानी गर्ने सम्बन्धि उद्देश्य थप गर्ने, प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पारित गर्नेछ ।
यस्तै सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको कर सहित २.५ प्रतिशतले हुने रकम ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ ।
प्रथम वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वित्तीय अवस्थाको विवरण (वासलात), आर्थिक वर्ष २०७२–८० को नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
