नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा श्रेष्ठ दोहोरिए


नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । अरुण पौडेल नेतृत्वको निर्वाचन समितिले संघलाई सर्वसम्मत रुपमा नयाँ नेतृत्व तथा पदाधिकारी दिन सफल भएको हो ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा दिनेश श्रेष्ठ पुनः निर्विरोध चयन भएका छन् । अध्यक्षमा चयन भएका श्रेष्ठ अशोका कार्वन एण्ड एलाइड इण्डष्ट्रिज प्रालिका सञ्चालक हुन् । निर्वाचन कार्यक्रम अन्तर्गत भएको मनोनयनमा अध्यक्षमा श्रेष्ठको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित बनेका हुन् । यससँगै अब उनले संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि नेतृत्व प्रदान गर्नेछन् ।

यसैगरी संघका तीन उपाध्यक्षमा एसजी इन्टरसेशनलका जयप्रसाद शिवाकोटी, राजेन इम्पोरियमका राजेन्द्र शेरचन र श्रीनाथ कलेक्सनका रमानाथ श्रेष्ठ चयन भएका छन् ।

महासचिवको जिम्मेवारी दुर्गाराज श्रेष्ठले पाएका छन् । सघंको महासचिवमा चयन भएका श्रेष्ठ गोधुली इन्टरप्राइजेजका सञ्चालक हुन् । यसैगरी सचिवमा फेसियल हाउस प्रालिका सुष्मा महरा, कोषाध्यक्षमा हिटको प्रालिका प्रदीपमान प्रधान र सह–कोषाध्यक्षमा शुभकामना फुटवेर प्रडक्टका नानीराज घिमिरे चयन भएका छन् ।

यसैगरी एघार कार्यसमिति सदस्यहरुमा प्रमहरि मैनाली, सुरेन्द्रभक्त श्रेष्ठ, सागर शाक्य, कुशन प्रधान, राजेन्द्र संग्रौला, दीपक भण्डारी (सिद्धार्थ ट्रेड), शिशिर बहादुर गौतम, दीपक भण्डारी (रेडियन्ट इन्फोटेक), महेन्द्र कुमार गोयल, सदिश श्रेष्ठ र उज्वलजंग पराक्रम शाह निर्वाचित भएको संघले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको शुक्रबार सम्पन्न तेस्रो वार्षक साधारण सभामा नयाँ कार्यसमितिका पदाधिकारीले उद्योगी व्यवसायीको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ असोज २०८०, शुक्रबार १८ : ४९ बजे