अप्पर लोहोरे हाइड्रोपावरको सेयर सूचीकृत, सोमबारदेखि कारोबार खुल्ने


अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडकाे सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा आइतबार सूचीकृत भएको छ ।  कम्पनीकाे कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर सूचीकृत भएको हो ।

सूचीकृत सेयरमध्ये सर्वसाधारण लगानीकर्ताहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारी) हरुमा वितरण गरिएको २४ लाख ९८ हजार ४० कित्ता सूचीकृत भएको हाे । यस्तै कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता सेयर सूचीकृत भएको छ । आइतबार सूचीकृत भएको कम्पनीको सेयर दोस्रो दिन अर्थात् सोमबारदेखि नेप्सेमा धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुनेछ ।

नेप्सेले कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९७.८७ रुपैयाँदेखि अधिकतम २९३.६१ रुपैयाँसम्मकाे ओपनिङ रेन्ज तोकेको छ । सोमबार कम्पनीकाे पहिलो कारोबार सोही मूल्य रेञ्जभित्र रहेर खुला हुनेछ । ‘युएलएचसी’ (ULHC) संकेतमा यसको सेयर कारोबार हुनेछ ।

साउन १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुलाएको कम्पनीको आइपीओ साउन २९ गते बाँडफाँड भएको थियो । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । यसमध्ये स्थानीय बासिन्दालाई ५ लाख ९ हजार ८०४ कित्ता सेयर निष्कासन गरेकोमा २ लाख ६ हजार ७६० कित्ता (अवितरित ३ लाख ३ हजार ४४ कित्ता सर्वसाधारणमा थप गरिएको) बाँडफाँड गरेको थियो ।

यस्तै कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १९ लाख ८८ हजार २३६ कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर पनि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरेको थियो । यस्तै कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको थियो । यसरी बाँकी रहेको १६ लाख ५० हजार २३५ कित्ता र स्थानीयबाट अवितरित भएको ३ लाख ३ लाख ३ हजार ४४ कित्ता सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर खरिदका लागि सर्वसाधारणमा आवेदन माग गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असाेज २०८०, आइतबार  १२ : २३ बजे