पौने ३५ अर्ब लगानीमा नेपालमै मल कारखाना खुल्ने

0
Shares

नेपालमै मल कारखाना निर्माण गर्ने उद्देश्यका साथ मलेसियाली कम्पनी रिनिकोला एसडीएन बीएचडीले ३४ अर्ब ७३ करोड (२६० मिलियन अमेरिकी डलर) बराबरको प्रस्ताव अघि सारेको छ ।

लगानी बोर्ड नेपालले मलेसियन कम्पनीको उक्त प्रस्तावलाई स्वीकृत गर्दै विस्तृत सम्भाब्यता अध्ययनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मलेसियाको रिनिकोला एसडीएन बीएचडी कम्पनीका तर्फबाट बौमहिदी अब्देलालीले हस्ताक्षर गरेका हुन्।

तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना गर्न प्रस्ताव गरिएको यस परियोजनाले विद्युतीय विच्छेदनको प्रविधिको प्रयोग गरी ग्रीन अमोनिया र ग्रीन क्यालसीयम अमोनियम नाइट्रट (क्यान) मल तयार पार्ने अवधारणा राखेको छ । विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनको निष्कर्ष सकरात्मक आएमा नेपालमै मल कारखाना स्थापना हुनुका साथै वर्षेनी रुपमा कृषकहरुले भोग्दै आएको मल अभावको समस्या समाधानका लागि सहजता हुनेछ ।

यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार ६०० मेट्रिक टन ग्रीन अमोनिया र २ लाख ८६ हजार ९७५ मेट्रिक टन ग्रीन क्यालसीयम अमोनियम नाइटे«ट मल उत्पादन गर्ने प्रस्ताव कम्पनीले गरेको छ ।

नेपालमा हरित अवधारणामा मल उत्पादन गर्ने उद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युत लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पु¥याउने विश्वास प्रमुख कार्यकारी अधिकृत भट्टको रहेको छ । विश्वसनीय अध्ययनले मात्रै जोखिम न्यूनीकरण सहित परियोजनाको कार्यान्वयन र दिगो रूपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेश गर्न प्रस्तावक मलेसियन कम्पनीलाई आग्रह गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।