भिजन लुम्बिनीको आईपीओमा १३ लाख बढी आवेदन

0
Shares

सेती नदी जलविद्युत आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा १३ लाख ६८ हजार १५० हजार कित्ता सेयर आवेदन परेको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका लागि गत भदौ १९ गतेदेखि प्राथमिक सेयर जारी गरेको थियो । असोज १७ गते (हिजो) अन्तिम दिन रहेकामा १३ करोड ६८ लाख १५ हजार रूपैयाँ बराबरको आवेदन परेको कम्पनीले जनाएको छ ।

प्रभावितका लागि जारी गरिएको आईपीओमा तोकिएको सङ्ख्याभन्दा ५ लाख ४४ हजार ३५० कित्ता न्यून आवेदन परेकाले प्रक्रिया पूरा गरेका सबैले सेयर प्राप्त गर्ने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनका अनुसार आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिका–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीय बासिन्दाका लागि सेयर जारी गरेको थियो ।

कम्पनीको आईपीओमा आस्वाबाट ६३९ जनाले ५ लाख ६७ हजार २२० कित्ता र भौतिक उपस्थित भएर ८७९ जनाले ८ लाख ९३० कित्ता आवेदन गरेका छन् ।

भिजन लुम्बिनीले आफ्नो जारी पुँजी एक अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले जानकारी दिए ।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशतले १ लाख ९१ हजार २५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्काशन गरी असोज १५ गते बाँडफाँड गरिएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको थियो ।

कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउँदै आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार ढिलोमा आगामी मङ्सिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिक रुपमा विद्युत उत्पादन हुनेछ । मङ्सिर पहिलो साता आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको पोखरेलको भनाइ थियो ।

स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइप मार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

“भूमिगत पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२.५ मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालेर विद्युत उत्पादन हुनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ”, पोखरेलले भने । उनका अनुसार उक्त आयोजनामा पाँच अर्ब लगानी रहेको छ । तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गर्न लागिएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।