हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय थप, हालसम्म कति पर्यो आवेदन ?


हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने समय थप गरिएको छ । मंसिर २७ गतेदेखि सर्वसाधारणका बिक्री खुला गरेको आईपीओमा अब ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन सकिने छ ।

यद्यपि, आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ । इन्स्योरेन्सको आईपीओमा ४ अर्ब ३० करोड ४५ लाख २६ हजार ५६० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएससीका अनुसार शनिबार साँझ ५ बजेसम्ममा ११ लाख ५६ हजार ४३४ जना आवेदकले २ करोड ८ लाख ९५ हजार ७६० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३० लाख कित्ता बाँडफाँड गरिसकेको छ । यस्तै कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ ।

बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।