सूर्यज्योति लाइफको ऐतिहासिक सफल मर्जरको एक वर्ष पूरा


सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ। जीवन बीमा कम्पनीहरु मध्ये पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफले मर्जरको एक वर्षको आफूलाई अझै दरिलो रुपमा उभ्याउन सफल भएको हो ।

मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार शुरु गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको जीवन बीमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ । यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले मङ्सिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ ।

चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत आफ्ना आदरणीय बिमितहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै कम्पनीले करिव २३ लाख जीवन बीमालेख बिक्री गरि सकेको छ।

जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमकका रुपमा समेत उभिएको छ। कम्पनीमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् भने देशै भरि करिव ९४ हजार अभिकर्ता सुर्यज्योति लाइफमा आबद्ध छन् ।

बजारको आवश्यकता र नविनतम सोच अनुसार बीमा योजनाहरु ल्याउने रणनीति अन्तर्गत यो जीवन बीमा कम्पनीले हालै कम प्रिमियममा नै ठुलो बीमा गर्न सकिने र ७० बर्षको उमेरमा तिरेको सम्पूर्ण रकम फिर्ता हुने साथै रक्षावरण आजीवन रही रहने आजीवन म्यादी बीमा ‘सही प्लान’बीमा योजना सार्वजनिक गरिसकेको छ ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी वृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरुबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाए पछि सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए । बीमाङ्की मूल्याकन, विस्तृत लेखा परिक्षण र साधारण सभापछि यी दुबै कम्पनीले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पौष ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।