ह्याम्स अस्पतालले २८८ रुपैयाँमा आईपीओ जारी गर्ने, ट्रिपल बी माइनस रेटिङ

0
Shares

हस्पिटल फर एड्भान्स मेडिसीन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पतालले) प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । सन् १९९८ मा स्थापना भएको हस्पिटल सन् २०२२ को जुलाई महिनामा पब्लिक लिमिटेडमा परिणत भएको थियो । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि हस्पिटलले जारी पुँजीको १५ प्रतिशत सार्वजनिक निष्काशन गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेमा हस्पिटलले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्नेछ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १८८ प्रिमियम थपेर कुल २८८ रुपैयाँमा हस्पिटलले आईपीओ निस्कासन गर्नेछ । आईपीओ निस्कासन गर्न कम्पनीले पुस ६ गते शुक्रबार धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

आर्थिक वर्ष २०२३ मा हस्पिटलले १ अर्ब ३९ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । जसअन्तर्गत ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको २५.३ प्रतिशत रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको साख मूल्यांकन गरी ट्रिपल बी माइन्स रेटिङ गरेको छ ।

रामशरण भन्डारी र उनका परिवारका सदस्यहरुको लगानी रहेको यस अस्पतालले मेडीसीन र सर्जरीको अत्याधुनिक सेवा सुविधा प्रदान गरिरहेको छ । १०० शैयाको क्षमता भएको हस्पिटल काठमाडौंको धुम्बराईमा अवस्थित छ ।

हस्पिटलले ८७ करोड ३७ लाख बराबरको कर्जा रेटिङ गराएको छ । इक्रा नेपालले ८५ करोड ३७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र २ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

हस्पिटलको पछिल्लोे वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०२२ को तुलनामा २०२३ मा सञ्चालन आम्दानी १०.१० प्रतिशतले घटेको छ।

यस्तै हस्पिटलले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा समेत ह्रास आएको छ । हस्पिटलले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता गत आवमा कुल कर्जाको ५.७ प्रतिशत थियो भने हाल ४.८ गुणामा झरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।