आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हिमालयन डिष्टिलरी, आइसिएफसि फाइनान्स र सिक्लेस हाइड्रोपावरले पुस १३ गते बुक क्लोज गदैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यस्तै राधी विद्युत कम्पनीले पुस १५ गते बुकक्लोज गर्दैछ । शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकोले राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

त्यसैगरी, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त तथा साना किसान विकास लघुवित्तले पुस १६ गते बुकक्लोज गर्दैछन्। १४ र १५ गते सार्वजनिक सेयर कारोबार नहुने र आइतबार तमु ल्होसारको सार्वजनिक बिदा भएकोले आज नै लाभांश सुरक्षित गर्नुपर्ने हुन्छ ।

हिमालयन डिष्टिलरीले पुस २५ गते बुधबार, लिपनिविर्तास्थित आफ्नो रजिष्टर्ड कार्यालयमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले १० प्रतिशत बोनस शेयर रहेको छ भने १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

आइसिएफसि फाइनान्सले पुस २९ गते, आइतबार, आम्रपाली ब्यांक्वेट, थिरबर सडक, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना महिलासहित ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी, सिक्लेस हाइड्रोपावरले पुस २७ गते शुक्रबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, राधी विद्युत कम्पनीले पुस २९ गते, आइतबार, आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा साधारण सभा बोलाएको छ। वेबिनारबाट उपस्थित हुन सकिने सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

आत्मनिर्भर लघुवित्तले भने पुस २८ गते, शनिबार, होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

घोराही सिमेन्टले पुस २८ गते दाङ जिल्ला घोराही उप महानगरपालिका वडा नं। १५ भरतपुरमा अवस्थित होटल पौवामा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। बिहान ९ बजे शुरु हुने सभाले हाल कामय चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र सो बोनस शेयर वितरण गर्दा हुन आउने खंडित शेयरलाई पछि समायोजवना गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीका आधारभुत शेयरधनीहरु वा सञ्चचालक सबद्ध रहेको संस्थासँग कम्पनीले गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखपारीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यसैगरी, सपोर्ट लघुवित्तले पुस २७ गते, शुक्रबार, दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा नवौँ वार्षिक साधारण सभा बोलाएको हो। बिहान साढे ९ बजे शुरु हुने सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेल लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

यस्तै साना किसान लघुवित्तले पुस २९ गते, कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।