जगदम्बा सिमेन्टको आम्दानीमा निरन्तर गिरावट, रेटिङमा समेत घटुवा

0
Shares

व्यापारिक घराना शङ्कर ग्रुप र सौरभ ग्रुपको लगानी रहेको जगदम्बा सिमेन्टको आम्दानी आर्थिक वर्ष २०२३ मा ४६.०४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०२२ मा २ अर्ब ६८ करोड २० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आर्थिक वर्ष २०२३ मा ४६.०४ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ७० लाखमा समेटिएको हो ।

कम्पनीको आम्दानी आर्थिक वर्ष २०२० देखि खस्किँदै गएको हो । आव २०१९ मा ३ अर्ब ७९ करोड ४० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी २०२० मा घटेर २ अर्ब ४४ करोड पुगेको थियो । सन् २०२१ मा सञ्चालन आम्दानीमा केही सुधार हुँदा वार्षिक सञ्चालन आम्दानी २ अर्ब ९२ करोड २० लाख पुगेको थियो । यस्तै आव २०२२ मा सञ्चालन आम्दानी पुनः घटेर २ अर्ब ६८ करोड २० लाख कायम भएको थियो । यसरी कम्पनीको आम्दानीमा निरन्तर गिरावट आउँदा कम्पनीको साख मूल्यांकनमा समेत त्यसको असर देखा परेको छ ।

कम्पनीले १ अर्ब २३ करोड ८० लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । पछिल्लो वित्तीय अवस्था र आम्दानीमा आएको गिरावटलाई ध्यानमा राख्दै रेटिङ एजेन्सी इक्रा नेपालले ७६ करोड ९० बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस रेटिङ गरेको छ । यसअघि इक्राले कम्पनीलाई डबल बी प्लस रेटिङ गरेको थियो । यस्तै ४६ करोड ९० लाख बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीलाई इक्राले ए४ रेटिङ गरेको छ । यो रेटिङ यसअघि गरेको ए४ प्लसबाट घटुवा गरिएको हो ।

सन् २००१ बाट सञ्चालनमा आएको जगदम्बा सिमेन्ट इन्डष्ट्रिज प्रालिले ओपिसी तथा पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको ग्राइन्डिङ क्षमता एक हजार टन प्रति दिन रहेको छ ।

कम्पनीको उपलब्ध वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ०.४ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।