अपर तामाकोशीको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन


अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले पुस १३ गतेदेखि बिक्री खुला गरेको लिलामी सेयरमा आजसम्म मात्र आवेदन दिन पाइने छ ।

कम्पनीले सर्वसाधारण समूहको अवितरित १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर बिक्री खुला गरेको थियो । सेयर न्यूनतम प्रति कित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । उक्त हकप्रदमा जुन सुकै व्यक्ति, कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाण्डौबाट आवेदन दिन सक्ने छन् । यस्तै सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं, र लक्ष्मी सन्राईज बैंक लिमिटेडको तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिने छ । सेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र नागरिक लगानी कोष रहेका छन्।

यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।