आँखुखोला जलविद्युतको मुनाफामा उच्च गिरावट, जगेडा कोष २३ करोड ऋणात्मक

0
Shares

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको मुनाफा ४२.८५ प्रतिशत घटेको छ । कम्पनीले चालू आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा १ करोड ५२ लाख ३५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले २ करोड ६६ लाख ५८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । यस वर्ष कम्पनीको आम्दानी १२ प्रतिशत बढीले घटेसँगै खुद नाफामा असर पुगेको हो । कम्पनीको विद्युत बिक्री आय गत आवको दोस्रो त्रैमाससम्ममा १२ करोड २३ लाख २६ हजार रूपैयाँ रहेकोमा अहिले १० करोड ७६ लाख १ हजार रूपैयाँमा खुम्चिएको छ ।

चुक्ता पुँजी ८० करोड रूपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ३ रूपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रति सेयर नेटवर्थ ७१ रूपैयाँ छ । कम्पनीको जगेडाकोष २३ करोड १८ लाख रूपैयाँ बढी ऋणात्मक छ । गत आवको सोही अवधिमा २१ करोड २० लाख रूपैयाँ ऋणात्मक थियो ।

कम्पनीको सञ्चालन आम्दानी पनि ७३ लाखले घटेर यस वर्ष ७ करोड २४ लाख ५७ हजार रूपैयाँ कायम भएको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च करिब ८ प्रतिशतले बढेर ५ करोड ७२ लाख रूपैयाँभन्दा बढी खर्च भएको छ । यस्तै प्रशासनिक खर्च पनि ३३ प्रतिशतले वृद्धि भएर पौने ६८ लाख पुगेको छ ।

कम्पनीको कर्जा सापटी ५ करोड ६० लाखबाट बढेर ८ करोड २९ लाख रूपैयाँ पुगेको छ । कम्पनीको अन्य दायित्व ५ करोड ३५ लाख बढी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।