मालपोत अधिकृतको साढे चार करोड गैरकानुनी सम्पत्ति, कान्छी श्रीमतीको नाममा जग्गा र सेयर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे चार करोड रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा एक शाखा अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन अधिकृत मीनबहादुर भट्टराईविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

भट्टराईले १५ वर्षको अवधिमा गैरकानुनी रूपमा ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ आर्जन गरेको अख्तियारको ठहर छ । भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४ साउन २६ गतेदेखि ०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानमा समेटिएको अख्तियारले जनाएको छ ।

उक्त अवधि भट्टराईको वैध आय ५ करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ देखिएको छ । सोही अवधिमा उनले १० करोड २३ लाख ९२ हजार २८८ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ । उनको वैद्य आयको तुलनामा खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको अख्तियारको भनाई छ ।

अख्तियारद्धारा दायर मुद्दामा भट्टराईसँग चार करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ बिगो दाबी गरिएको छ । पछिल्लो समय भट्टराई मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत थिए।

यस्तै, भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति कान्छी श्रीमती झुनाकुमारी कठेत समेतको नाममा जग्गा खरिद, शेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात राखेको पाइएको अख्तियारले जनाएको छ । उनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।