नेप्से ६ दिन घटेपछि सोमबार बढ्यो, कारोबार भने २ अर्बमा सीमित

0
Shares

सेयर बजार सूचक नेप्से ६ कारोबार दिनघटेपछि सातौं दिनमा सकारात्मक बनेको छ । पछिल्ला ६ कारोबार दिनमा नेप्से ९७.४६ अंकले घटेको नेप्से सोमबार भने १३.२८ अंकले उकालो लागेको हो ।  सोमबारको वृद्धिसँगै बजार मापक नेप्से १९९२.३० बिन्दुमा पुगेको छ । यसदिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक, फ्लोट इण्डेक्स ०.८० अंक, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये १० ओटा बढ्दा ३ ओटा घटेको छ । फाइनान्स लघुवित्त र म्युचुअल फन्डको इन्डेक्स सामान्य घटेको छ । आज उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक २.५१ सर्वाधिक प्रतिशतले बढेको छ भने होटल तथा पर्यटनमुलक१.४५ प्रतिशत, जलविद्युत १.३६ प्रतिशत र ब्यापारको इन्डेक्स पनि १.३४ प्रतिशतले बढेको छ ।

सोमबार ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर ४९ हजार ९४० ओटा संख्याबाट २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार ३१७ कम्पनीको ८५ लाख ४६ हजार कित्ता सेयर ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा आज दैनिक कारोबार रकम १ अर्ब ६ करोड ९२ लाख रुपैयाँले घटेको हो ।

दिनभर तीव्र उतार चढावपूर्ण रहेको नेप्से अन्तिम २० मिनेटमा बढेको हो । लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारमा कारोबार रकम भने खुम्चिएको हो । सोमबार कारोबारमा आएका ३१४ कम्पनी मध्ये १९८ ओटाको सेयर मूल्य बढेको छ भने १०२ ओटाको मूल्य घटेको छ । १४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सोनापुर मिनरल्स एण्ड आयल कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । कम्पनीको ९ करोड ७१ लाख ८० हजार रुपैयाँको २ लाख २८ हजार १६ कित्ता सेयर खरिद बिक्री भएको छ । यस्तै हिमालयन रि इन्स्योरेन्सको ७ करोड ७५ लाख, शिवम् सिमेन्टको ६ करोड ६७ लाख, गोर्खाज फाइनान्सको ६ करोड २६ र सन् नेपाल लाइफको ६ करोड १८ लाख बढीको कारोबार भएको छ ।

सोमबारको बजारमा पनि बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको १६ हजार २३२ रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको ८.१६ प्रतिशत, नेपाल वेयर हाउजिङ्गको ७.६५, सोनापुर मिनरल्स एण्ड आयलको ७.३५ प्रतिशत र सिवाईसी नेपाल लघुवित्तको ६.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

उता समाज लघुवित्तका लगानीकर्ताले आज दोस्रो दिन पनि १० प्रतिशतले गुमाएका छन् । समाज लघुवित्तको २ करोड २८ लाख चुक्ता पुँजी तथा सर्वसाधारणमा जम्मा ८६ हजार कित्ता सेयर जारी गरेको कम्पनीमा एक दुई जनाले सबै सेयर किन्नसक्ने भएकाले वार्षिक करिब १५ रुपैयाँ नोक्सानीमा रहेपनि कम्पनीको सेयरमूल्य अत्याधिक उचालिएको थियो । यस लघुवित्तको सेयरमा पम्पिङ्ग गरिएकाले मूल्य घट्न थालेपछि उच्चतम मूल्यमा खरिद गर्ने लगानीकर्ता नराम्रोस्ँग फस्ने जोखिम बढेको छ । ऋणात्मक सर्किट लागेर घटेसँगै कम्पनीको सेयरको भाउ १७६२ रुपैयाँ ९० पैसामा झरेको छ ।

यस्तै बिपिडब्लू लघुवित्तको ८.७७ प्रतिशत, किसान लघुवित्तको ५.५६ प्रतिशत, गोर्खाज फाइनान्सको ५.३५ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को ३.६० प्रतिशतले सेयरको भाउ घटेको छ ।

सोमबारको बजार वृद्धिपछि कुल बजार पुँजीकरण ३१ खर्ब ३१ अर्ब ७३ करोड ७१ लाख रुपैयाँमा समेटिएको छ । आइतबार बजार पुँजीकरण ३१ खर्ब १० अर्ब ८५ करोड ५८ लाख रुपैया थियो । आज मात्रै २० अर्ब ८८ करोड १३ लाख रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।