समाज लघुवित्तमा दोस्रो दिन नकारात्मक सर्किट, फस्दै लगानीकर्ता

0
Shares

समाज लघुवित्तको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोस्रो दिन नकारात्मक सर्किट लागेर घटेको छ । कमजोर वित्तीय अवस्थाको लघुवित्तको सेयर मूल्यमा पम्पिङ्ग गरेर गरिएको वृद्धिपछि हाल डम्पिङ्गको अवस्थामा पुगेको हो ।

सोमबार ऋणात्मक सर्किट लागेसँगै लघुवित्तको प्रतिकित्ता सेयर मूल्य आज १९५ रुपैयाँ ८० पैसाले १७६२ रुपैयाँ ९० पैसामा झरेको छ । यससँगै दुई दिनमा कम्पनीको लगानीकर्ताले प्रतिकित्ता ४१३ रुपैयाँ ४० पैसाका दरले गुमाएका छन् । गत बिहीबार कम्पनीको सेयर मूल्य २१७६ रुपैयाँ ३० पैसामा अन्तिम पटक कारोबार भएको थियो । बिहीबार १०० कित्ता सेयर किन्ने लगानीकर्ताले दुई दिनमा नै ४१ हजार ३४० रुपैयाँ गुमाएका हुन् ।

नकारात्मक सर्किट मूल्यमा पनि लगानीकर्ताले सोमबार सेयर बिक्री गर्नसक्ने अवस्था छैन । मंगलबार पनि घटेपछि सेयर बिक्री गर्दा लगानीकर्ता थप नोक्सानीमा फस्ने निश्चित छ । वित्तीय अवस्था खराब भएपनि न्यून पुँजी भएकै कारण सेयर बजारका कारोबारीहरुले उक्त लघुवित्तको सेयर उच्च रुपमा वृद्धि गरेका थिए । यो पासोमा नयाँ र सोझा लगानीकर्ता फसेका हुन् । सर्किट मूल्यमा कम्पनीको सेयर बिक्रीका लागि लगानीकर्ताले २२३ ओटा आदेश मार्फत ३४१३ कित्ता सेयर बिक्रीमा राखेका छन् । तर लघुवित्तको मूल्य अझै घटने भयका कारण लघुवित्तको सेयर किन्ने मान्छे शुन्य छन् । मूल्य घट्दै जाँदा सोमबार पौने १ बजेसम्म लघुवित्तको २८० कित्ता मात्र कारोबार भएको छ ।

समाज लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६२ पैसा ऋणात्मक रहेको छ । तर कम्पनी सेयर मूल्य भने नेप्सेमा लगातार ७८ करोबार दिनदेखि बढेको थियो । आईपीओ बाँडफाँड गरे लगत्तै समाज लघुवित्तले मर्जर सम्झौता गरेका कारण कम्पनीको सेयर कारोबार ३ वर्षपछि नियमित कारोबारमा खुला भएको थियो । त्यसमाथि लघुवित्त कम्पनीको सेयर कारोबारका लागि नेप्सेले दिएको न्यूनतम कारोबार रेञ्जमा लघुवित्तले दिएको १४.२५ प्रतिशत बोनस समायोजन भई ६५ रुपैयाँ ५६ पैसा कायम भएकाले लघुवित्तको पहिलो सेयर कारोबार ७२ रुपैयाँ १० पैसामा नेप्सेमा सुरु भएको थियो ।

सेयर बजारका जानकारहरुका अनुसार थोरै सेयर पुँजी हुने सेयरमा बजारका चलाख खेलाडीहरुले आफू अनुकुल चलखेल गर्ने हुँदा यस्ता कम्पनीको सेयरमा फाइदाभन्दा बढी जोखिम हुने गर्दछ । थोरै कित्ता सेयर हुँदा कारोबारीहरुले कम्पनीको सेयर एकीकृत गरी मूल्य बढाएका हुन् । 

चुक्ता पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ मात्र रहेको उक्त लघुवित्त पुस मसान्तसम्ममा १६ लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा रहेको छ । गत आवको यसै अवधिमा ७५ लाख ८२ हजार नाफा कमाएको लघुवित्त हाल नोक्सानीमा पुगेको हो ।

कुल ८६ हजार कित्ता सार्वजनिक निष्कासन गरेको कम्पनीको सेयर १ हजार कित्ता कर्मचारी र ४ हजार ३०० कित्ता सामुहिक लगानी कोषलाई छुट्टाएर ८० हजार ७०० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँड भएको थियो । कम्पनीले २०७७ फागुन ४ देखि ८ गतेसम्म सेयर निष्कासन गरी भदौ १५ गते बाँडफाँड भएको थियो । कम्पनीको सेयरको आपूर्ति नै कम भएकाले एक दुई जनाले नै यस लघुवित्तको सेयर एकीकृत गरेर चलखेल गर्ने सम्भावना ज्यादा रहन्छ ।

उक्त सेयर ८ हजार ७० जनालाई १० कित्ताका दरले वितरण गरिएको थियो । आईपीओ निष्कासनपछि लघुवित्त र स्वस्तिक लघुवित्तबीच मर्जर प्रकृयाका कारण रद्द भएर लामो समयपछि फुकुवा भई नियमित कारोबारमा आएको थियो । समाजको साधारण सभाले स्वस्तिक सँगको मर्जर प्रस्ताव पारित नगरेपछि मर्जर प्रस्ताव भंग भएको थियो । दुई लघुवित्तबीच २०७७ असोज ५ गते एक आपसमा मर्ज हुने सम्झौतामा सहमति भएको थियो । यद्यपी मर्जरमा असफल भएपछि कम्पनीको सेयर कारोबार फुकुवा भई दोस्रो बजारमा खरिद बिक्री हुँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।