डीडीसीले मात्रै किसानलाई १ अर्ब धेरै भुक्तानी दिन बाँकी, कुल ६ अर्ब धेरै बक्यौता

डीडीसीले मात्रै किसानलाई १ अर्ब धेरै भुक्तानी दिन बाँकी, कुल ६ अर्ब धेरै बक्यौता

पाउडर दूध र मख्खनको स्टक बढ्दै गएपछि किसानलाई तिर्नुपर्ने रकम दिन समस्या भएको विभिन्न निकायले बताएका छन् । दूधमा ६ अर्ब रुपैयाँभन्दा धेरै बक्यौता रहेको किसानको दाबी छ ।

किसानलाई दूधको पैसा दिनुपर्ने निकाय डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएसन तथा दुग्ध विकास संस्थान (डीडीसी) हुन् । दुग्ध विकास संस्थान ले किसानलाई एक अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिनुपर्नेछ । अरू झन्डै पाँच अर्ब रुपैयाँ निजी क्षेत्रका डेरीको बक्यौता रकम हो ।

किसानलाई दिनुपर्ने भुक्तानीमा आफूहरू गम्भीर नै रहेको र केही दिनमै निकास निस्कने नेपाल डेरी एशोसिएसन र दुग्ध विकास संस्थानका प्रतिनिधिले बताएका छन् ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाका अनुसार अहिले भुक्तानीमा समस्या आउनुको मुख्य कारण पाउडर दूध र मख्खन खपत नभएर हो । डीडीसीमा प्रतिमहिना १५ लाख लिटर बराबरको पाउडर दूध थुप्रिँदा समस्या भएको उनको भनाइ छ । डीडीसीमा मात्रै सवा एक अर्ब रुपैयाँ बराबरको पाउडर दूध र मख्खन मौज्दात रहेको महाप्रबन्धक झाले जानकारी दिए ।

उनका अनुसार ९ लाख किलो पाउडर दूध र ७ लाख किलो मख्खन मौज्दात छ । डीडीसीले विभिन्न ४३ जिल्लामा उत्पादन भएको दूध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै उपभोक्तामाझ पुर्‍याउँदै आएको छ ।

किसानको बक्यौता डीडीसीमा झन्डै १ अर्ब १० करोड रहेको र यो बक्यौता घटाउन तत्काल सरकारसँग ३० करोड रुपैयाँ सहुलियत ऋण माग गरेको उनको भनाइ छ । अबको एक हप्ताभित्रै सरकारले आफूहरूलाई सहुलियत ऋण उपलब्ध गराउने र यसबाट किसानको बक्यौता भुक्तानीमा सहज हुने महाप्रबन्धक झाले बताए । दूध उत्पादक किसानले भुक्तानीको माग गर्दै विभिन्न आन्दोलन गर्दै आएका छन् ।

डीडीसीलाई बिक्री गरेको दूधको भुक्तानी ६ महिनादेखि नपाएको भन्दै इलामका किसानले बिहीबार मेची राजमार्गमा विरोध जनाएका छन्। जिल्ला दुग्ध उत्पादक सहकारी संघ इलामको आयोजनामा भेला भएका करिब २०० किसानले सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन्। इलामसहित कोशी प्रदेशका ८ हजार बढी किसानले डीडीसीलाई बेचेको दूधको भुक्तानी पाएका छैनन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ फागुन २०८०, शुक्रबार १७ : ५२ बजे