फागुनमा सरकारले उठायो ७२ अर्ब राजश्व.

फागुनमा सरकारले उठायो ७२ अर्ब राजश्व.

सरकारले फागुन महिनामा ७२ अर्ब ३० करोड रुपैयाँ राजश्व उठाएको छ । यो फागुन महिनाभर संकलन गरेको कर तथा गैरकरसमेत सहितको राजश्व हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुनमा कर राजश्वतर्फ ६८ अर्ब १७ करोड तथा गैरकर राजश्वतर्फ ३ अर्ब ४६ करोड रुपैयाँ संकलन भएको हो । फागुनमा ६३ करोड रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ भने छ । यस महिनामा सरकारले कुनै पनि अनुदान सहयोग प्राप्त गरेन ।

भन्सार विभागले फागुन महिनामा ३६ अर्ब १० करोड र आन्तरिक राजश्व कार्यालयले ३२ अर्ब ७ करोड रुपैयाँ राजश्व संकलन हो । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः १० र १४ प्रतिशत बढी हो । फागुनसम्म भन्सार विभागले संकलन गरेको राजश्व लक्ष्यको तुलनामा ३४.२६ प्रतिशत र आन्तरिक राजश्व विभागको ११.१८ प्रतिशत कम हो । सरकारले यस वर्षको फागुनका लागि भन्सारलाई ५४ अर्ब ९१ करोड तथा आन्तरिक राजश्व विभागलाई ३६ अर्ब ११ करोड राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो ।

भन्सार विभाग र आन्तरिक रावश्व विभाग नेपालको राजश्व संकलनका गर्ने प्रमुख निकाय हुन् । भन्सार विभागले विदेशबाट आएका वस्तुहरुको भन्सार विन्दुमा कर संकलन गर्छ । यस अन्तर्गत भन्सार महशुल, अन्तशुल्क तथा मुल्य अभिवृद्धि कर समेत पर्छन् । त्यस्तै, आन्तरिक राजश्व कार्यालयले आन्तरिक उत्पादनाहरुमा लाग्ने मूल्य अभिवृद्धि कर, अन्तशुल्क र अन्य व्यक्तिगत तथा संस्थागत आयकरको असुली गर्छ ।

फागुनसम्म सरकारले ५ खर्ब ७८ अर्ब रुपैयाँ कर राजश्व र ६० अर्ब ३७ करोड रुपैयाँ गैरकर राजश्व गरी कुल ६ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । यस अवधिमा सरकारले २ अर्ब ७५ करोड रुपैयाँ बराबरको अनुदान र २२ अर्ब २० करोड रुपैयाँ बराबरको अन्य आम्दानी प्राप्त गरेको जनाएको छ ।

सरकारले फागुनसम्म ८ खर्ब १ अर्ब रुपैयाँ बराबर सरकारी खर्च गरेको छ । कुल १७ खर्ब ५१ अर्बको बजेट ल्याएको सरकारले आठ महीनामा ४५.७७ प्रतिशत खर्च गरेको हो । चालु खर्चतर्फ ५०.९८ प्रतिशत, पुँजीगततर्फ २६.८९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४४.९७ प्रतिशत खर्च गरेको छ ।

सरकारले चालुतर्फ ११ खर्ब ४२ अर्ब रुपैयाँको बजेटमध्ये ५ खर्ब ८२ अर्ब १० करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब रुपैयाँको बजेटमध्ये ८१ अर्ब २१ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्बको लक्ष्य लिइएकोमा १ खर्ब ३८ अर्ब २५ करोड रुपैयाँ खर्च गरिएको छ ।

बजेटले लक्ष्य नभेट्ने भएपछि सरकारले बजेट खर्चको संशोधित अनुमानमा घटाएर ८७.३७ प्रतिशत अर्थात १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ चैत २०८०, शुक्रबार १७ : ५१ बजे