साझा सङ्कल्प सार्वजनिक : निराशा चिर्दै भरोसा जगाउने लक्ष्य

साझा सङ्कल्प सार्वजनिक : निराशा चिर्दै भरोसा जगाउने लक्ष्य

मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्नका लागि नीतिगत सुधार गर्ने, समाजमा व्याप्त निराशा चिर्दै भरोसा जगाउने लक्ष्यका साथ सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलगायतका शीर्ष नेताको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो ।

सङ्कल्पमा वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने लक्ष्य राखिएको छ । रोजगारी, उद्यमशीलता र स्वदेशी उत्पादनलाई जोड दिने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास र अन्तर निकाय समन्वयलाई जोड दिने विषयलाई पनि साझा सङ्कल्पमा महत्वका साथ स्थान दिइएको छ ।

ऊर्जा विकास, सूचना र सञ्चार, भूमि व्यवस्था, वन तथा वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशीता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति, राष्ट्रियहितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलगायत विषयलाई विशेष महत्वका साथ साझा सङ्कल्पमा स्थान दिइएको छ ।

आर्थिक शिथिलता अन्त्य, बैंक वित्तीय संस्थालाई विसङ्गति मुक्त’

पाँच दलको न्यूनतम साझा कार्यक्रमले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, स्वरोगार उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवर्द्वन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेको छ । सत्तारुढ पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने उल्लेख छ ।

“सुस्त कर्जा प्रवाह र पुँजीगत खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय तथा मौद्रिक नीतिबीच समन्वय गर्दै तात्कालीक र मध्यकालीन लगानी र रोजगारमैत्री नीतिगत सुधारमा बाधा पुर्याउने बिभिन्न कानुनहरु संशोधन गरिनेछन् । सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको राजस्व र खर्चबीच बढिरहेकोे अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गरिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ ।

विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने नीति सरकारले लिने प्रतिबद्धता पाँच दलले जनाएका छन् । त्यस्तै, सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रबिन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको सङ्क्रमणकालीन रणनीति कार्यान्वयन गर्ने सङ्कल्प पाँच दलको छ । पन्ध्रौं योजनाको कार्यान्वयन अवस्थाको वस्तुनिष्ठ समीक्षासहित सोह्रौं राष्ट्रिय योजना प्रारम्भ गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । सोह्रौं आवधिक योजनामार्फत डिजिटलाइजेसन, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारमूलक आर्थिक वृद्धि एवं संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा परिभाषित गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी ‘सम्मानजनक मध्यम आय भएको अर्थतन्त्र’ निर्माण गर्ने उल्लेख छ ।

वित्तीय संस्थामा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने पनि सत्तारुढ दलको साझा सङ्कल्प छ । “सहकारी कर्जा असुली न्यायाधीकरणको गठन गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुआत गर्ने, ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेका सम्पत्तिको धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुनःकर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ”, सरकारमा रहेका दलको न्यूनतम साझा कार्यक्रममा भनिएको छ, “हाललाई बचत तथा ऋण कारोबार गर्ने संस्थाको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने र लघुवित्तका ऋणीहरूको कर्जा पुर्नतालिकीकरण तथा पुनःसंरचनाको व्यवस्था गर्ने नीति लिइनेछ ।”

सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने विषयमा सत्तारुढ दलको साझा सङ्कल्पमा परेको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, सुशासन प्रवद्र्धन गर्न, व्यावसायिक वातावरण निर्माणमा असहज एवं असान्दर्भिक नीति तथा कानुनमा परिमार्जन गरिने जनाइएको छ ।
“सङ्गठन संरचनामा कायम रहेको दोहोरोपना हटाइ चुस्त र मितव्ययी संरचना निर्माण गरिनेछ । राज्यका निकायबीच अन्तर–समन्वय कायम गरी प्रविधिमा आधारित, सुधार–निर्देशित अनुगमन प्रणाली स्थापना गरिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ, “समावेशिता, धर्मनिरपेक्षतासहित सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाइनेछ ।”

आमनागरिकलाई सहज र छरितो ढङ्गबाट निष्पक्ष न्यायको सुनिश्चितता गर्न न्यायपालिकाको संरचनागत सुधारका लागि सुझाव तथा सिफारिस गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना पाँच दलको साझा सङ्कल्पमा छ । त्यस्तै नागरिक प्रशासन, सुरक्षा निकाय, सार्वजनिक संस्थानलाई सक्षम र जनउत्तरदायी बनाउन नीति, संरचना र प्रणालीमा सुधार गर्नका लागि विज्ञ सम्मिलित कार्यदल गठन गर्ने पनि जनाइएको छ ।

‘सार्वजनिक पदमा रहेका सबै भ्रष्ट, सबै निकम्मा’ का रूपमा व्याप्त भावनालाई बदल्न ‘बेइमानी गर्नेले कानुनीरूपमा सजाय पाउँछ’ भन्ने उदाहरण प्रस्तुत हुनेगरी सार्वजनिक प्रशासन, न्यायालय र सम्बद्ध नियामक निकायमा जवाफदेहिता सुनिश्चित गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । ‘लाइनमा रहेका सबैको पालो आउँछ’ भन्ने मान्यतालाई बल पु¥याउने दिगो प्रणाली विकास गरी जनतामा राज्यप्रतिको भरोसा जगाउने नीति लिइने जनाइको छ ।

“कार्यसम्पादन करारसम्बन्धी विद्यमान निर्देशिकालाई परिमार्जन गरी प्रमुख पदमा बहाल कर्मचारीसँग वस्तुनिष्ठ मूल्याङ्कन र मापनयोग्य परिसूचकका आधारमा कार्यसम्पादन सम्झौता गरिनेछ”, न्यूनतम नीतिगत प्राथमिकतामा भनिएको छ, “राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याइनेछ । फरकफरक कार्यालयमा नागरिकतालगायत कागजात पटकपटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत सबै प्रकारको सेवा उपलब्ध गराइनेछ । सरकारी सेवा तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गरिनेछ ।”

सार्वजनिक खरिद प्रक्रियामा उच्चतम दक्षता र सदाचार सुनिश्चित गर्न आवश्यक कानुनी र संस्थागत सुधार गरिने जनाइएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने पाँच दलको साझा सङ्कल्पमा उल्लेख छ । त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गरिने जनाइएको छ । भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउन पाँच दलले प्रतिबद्धता जनाएका छन् । भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने दाबी पनि उनीहरुको छ ।

साझा सङ्कल्पः ‘उद्यमशील शिक्षित युवा’

सरकारले सबैको समान पहुँच भएको, राष्ट्र, समाज तथा जीवनसँग जोडिएको र समयअनुरुप अनुमोदित हुने गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै ‘उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलद्वारा आज सार्वजनिक ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’मा मौलिक हकका रूपमा रहेको स्वास्थ्य, खाद्य, आवास र खानेपानीको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला, सामाजिक सुरक्षा एवं असल औद्योगिक श्रम सम्बन्धलाई श्रम नीतिका आधारभूत मान्यताका रूपमा स्थापित गर्ने, मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने साझा सङ्कल्पमा उल्लेख छ ।

निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन तथा नियमावलीको मर्म र भावना कार्यान्वयन गरी जनताको शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने, विश्वविद्यालयमा विद्यमान समस्याको तत्काल समाधान गरी उच्च शिक्षाका निम्ति विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने, शिक्षा र रोजगारीका बीचमा सन्तुलन कायम गर्ने, सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा रहेको अन्तरलाई न्यूनीकरण गर्ने, डिजिटल माध्यम ९इ–लर्निङ०को प्रयोग गरी शिक्षालाई आधुनिकीकरण गर्ने सरकारको योजना छ ।

अवकाश प्राप्त सरकारी कर्मचारी र इच्छुक बुद्धिजीवीलाई शैक्षिक क्षेत्र सुधारका लागि स्वयंसेवक शिक्षक बन्ने अवसर सिर्जना गर्ने, नेपाल बाहिर दक्षता हासिल गरेको जनशक्तिले नेपालको शिक्षा क्षेत्रमा योगदान दिने वातावरण सिर्जना गर्ने सङ्कल्प गरिएको छ । सबै जनतामा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने, सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पु¥याउने, दायरा बढाउँदै किफायती स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थोपचार सहज बनाउने सरकारको नीति ।

सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल अक्रिडिटेसन अथोरिटी), रोग नियन्त्रण केन्द्र र खाद्य तथा औषधि नियमन प्राधिकरण बनाई स्वास्थ्य सेवाको नियमन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने साझा सङ्कल्पमा उल्लेख छ ।

भत्ताका रूपमा सुरु गरिएको सामाजिक संरक्षणका कार्यक्रम ९ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका हितका कार्यक्रम आदि०लाई रूपान्तरण गर्न स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई समेट्ने गरी सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम (स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष आदिले दिइरहेको सेवा) सुदृढ गर्ने सरकारको योजना छ ।

रोजगारीको उमेर भएका हरेक व्यक्तिलाई ‘काम अघि सामाजिक सुरक्षा नम्बर’को अनिवार्य व्यवस्था गरी नयाँ प्रणालीलाई प्रभावकारी र दिगो बनाउने तथा पालिकामा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरणको प्रणाली सुरु गरी श्रमजीवीको तथ्याङ्क व्यवस्थित गर्ने साझा सङ्कल्पमा उल्लेख छ ।

राष्ट्रिय पूर्वाधारमा अन्तर–निकाय समन्वय सुनिश्चित

साझा सङ्कल्पमा यातायात र सडकलाई आर्थिक विकासका पूर्वाधार, आपूर्ति व्यवस्थाको मेरुदण्ड, नागरिकले पाउने सुविधा एवं समुदाय–समुदायबीचको अन्तरसम्बन्धको माध्यमका रूपमा विकास गर्ने उल्लेख छ । पूर्वाधार विकासमा रहेको दोहोरोपन र भौगोलिक तथा प्रादेशिक असन्तुलन हटाउने, पूर्वाधार विकाससम्बन्धी आयोजनाहरू नीति, कार्यक्रम तथा बजेटमा पर्ने तर वर्षांैसम्म कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्ने, निर्माणाधीन पूर्वाधार आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने साझा सङ्कल्पमा उल्लेख छ ।

सम्पन्न भइसकेका आयोजनाको तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउने र समयमै कार्यसम्पन्न नगर्ने निर्माण कम्पनीको लाइसेन्स खारेज गरी क्षतिपूर्ति असुल गर्ने, आयोजना प्रमुखसँग कार्यसम्पादन करार गरी वृत्तिविकासको आधार अर्धवार्षिक मूल्याङ्कनको नतिजालाई बनाइने सरकारको योजना छ ।

अधुरा आयोजनाको निर्माणमा स्रोत सुनिश्चित गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनसहित ‘साइट क्लिरेन्स’ जस्ता पूर्वतयारी गरेर मात्र नयाँ आयोजना सुरु गर्ने, परियोजनाको छनोट, खरिद, मोडालिटी र कार्यान्वयनलाई प्रभावकारी बनाउन राष्ट्रिय पूर्वाधार योजनासँगै ‘राष्ट्रिय प्राथमिकता प्राप्त केही आयोजनाको द्रुततर निर्माणसम्बन्धी ऐन (सनसेट–ल)’ संसद्को यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन गर्ने उल्लेख छ ।

एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गरी सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने, यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गर्ने, पूर्वाधार विकासका लागि आवश्यकपर्ने वित्तीय न्यूनता परिपूर्तिका निम्ति सार्वजनिक निजी साझेदारी, सह वित्तीय लगानी, पूर्वाधार बण्ड, हरित वित्त, समिश्रित वित्त ९ब्लेण्डेड फाइनान्स०, भिजिएफ, एस्सेट मोनिटाइजेसन, हाइब्रिड अन्युटिजस्ता वित्तीय उपकरण प्रयोगमा ल्याउन कानुनी प्रबन्ध मिलाउने साझा सङ्कल्पमा उल्लेख गरिएको छ ।

पूर्वाधार निर्माण र सञ्चालनमा लगानी गर्ने उद्देश्यबाट स्थापना भएका वित्तिय संस्थालाई एकीकरण गर्ने, प्रत्यक्ष वैदेशिक लगानी तथा वैकल्पिक लगानीको परिचालनका निम्ति आवश्यक कानुनी प्रबन्ध गर्नुका साथै विदेशी लगानी आकर्षित गर्न ‘कन्ट्री रेटिङ’ गर्ने र स्वचालित डिजिटल एकीकृत एकद्वार सेवा प्रणाली प्रयोगमा ल्याइने सरकारको योजना छ ।

सम्पूर्ण पूर्वाधार क्षेत्रको अन्तरआबद्धतालाई दृष्टिगत गर्दै ‘राष्ट्रिय पूर्वाधार विकास योजना’ कार्यन्वयनमा ल्याइने, विशेष आर्थिक क्षेत्र प्राधिकरण र औद्योगिक विकास तथा व्यवस्थापन लिमिटेडलाई गाभी ‘औद्योगिक पूर्वाधार विकास प्राधिकरण’ बनाइने विषयलाई प्राथमिकता दिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ चैत २०८०, मंगलबार १८ : ३२ बजे