साझा सङ्कल्प : क्रिकेट लगायतका खेलमा पूर्वाधार निर्माण गर्ने

साझा सङ्कल्प : क्रिकेट लगायतका खेलमा पूर्वाधार निर्माण गर्ने

सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेटलगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा खेलाडीको सम्मान र वृत्तिविकासका लागि विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ ।

त्यसैगरी युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र संवाहकका रूपमा अगाडि बढाउँदै उनीहरूको विकासका लागि वातावरण निर्माण गर्ने, बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचान गराउने तथा पर्यटनको समग्र विकासमार्फत आर्थिक विकासमा टेवा पु¥याउने न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा उल्लेख गरिएको छ ।

युवालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको अभियन्ता र संवाहकका रूपमा विकास गर्ने, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवद्र्धन गरी दिगो पर्यटनको आधार तयार गर्नेलगायत कार्यक्रम ल्याउनेसमेत साझा सङ्कल्पमा उल्लेख छ । गुणस्तरीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न पर्यटकीय सेवाको विस्तार गर्ने, अन्धविश्वास, रुढीवादी, सामाजिक/जातीय विभेद, विकृति–विसङ्गति एवं शोषण अन्त्य गर्ने, अधिकारको सम्मान, सामाजिक न्यायको प्रत्याभूति र सांस्कृतिक सहकार्यका माध्यमबाट समुन्नत समाज निर्माण गर्ने कार्यक्रममा उल्लेख छ ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी प्रबन्ध

सरकारले मुलुकमा दिगो शान्ति स्थापना गर्नका लागि सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गर्ने भएको छ ।सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी व्यवस्था गर्ने उल्लेख छ ।

“दिगो शान्ति प्रक्रियाका पीडितलाई केन्द्रमा राखी तथ्यका आधारमा सत्य स्थापित गर्नुपर्छ”, न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा भनिएको छ, “सत्यका आधारमा न्याय, क्षतिपूर्ति, परिपूरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व सिर्जित पीडाको सम्बोधन गर्नुपर्छ ।”

सरकाले द्वन्द्वकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनासम्बन्धी कार्य गर्ने जनाएको छ । साथै, द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको कार्य सम्पन्न गर्नेसमेत सरकारले जनाएको छ ।

सरकारको उक्त योजनामा तराई–मधेसलगायतका आन्दोलनका क्रममा अन्यायपूर्ण ढङ्गले बन्दी बनाइकालाई सरकार र आन्दोलनकारीबीच भएका सम्झौताअनुरूप कानुनसम्मत ढङ्गले रिहाइ गर्नेसमेत योजना अघि सारेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ चैत २०८०, मंगलबार १९ : २१ बजे