माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्यसमेत रहेका रामकुमार शर्माले पार्टी छोडेको घोषणा गरेका छन् । शर्माले बिहीवार सामाजिक सञ्जालमार्फत नेताहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पहिले माओवादीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भैरहेको काममा आकाश–पातालको फरक पाएको उनको भनाई छ । माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आफूलाई आत्मग्लानी भएकोले पार्टी त्यागेको उनले उल्लेख गरेका छन् । साथै द्वन्दकालमा माओवादीले उठाएको मुद्दाबाट माओवादी च्यूत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटै–गुटका महासंघमा रुपान्तरण भएकाले पार्टी छाड्नु परेको निष्कर्ष शर्माको छ ।
‘महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन, १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको जनयुद्धलाई नै कलंकित गर्ने काम भैरहेको महशुस गरेको छु,’ शर्माले फेसबुकमार्फत भनेका छन् ।
१७ हजार नागरिकको ज्यान लिएको माओवादी सशस्त्र द्वन्दलाई कलंकित गर्ने काम शीर्ष नेताबाट भएको, प्रधानमन्त्रीको भाषणमा सुशासन भएपनि उनैले नेतृत्व गरेको पार्टीका नेताहरु भ्रष्टाचारको काण्डै–काण्डमा मुछिएको भन्दै शर्माले पार्टी त्योगेको शर्माको भनाई छ ।
