लालीगुराँसका बचतकर्तालाई मागदाबी पेस गर्न ३५ दिने सूचना जारी

लालीगुराँसका बचतकर्तालाई मागदाबी पेस गर्न ३५ दिने सूचना जारी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई अनलाइन मागदाबी पेस गर्न आह्वान गरेको छ ।

समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र मागदाबी पेस गर्न बचतकर्तालाई आह्वान गरेको हो । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा लालिगुराँस बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति र दायित्व फछ्र्योट गर्न समितिमा पठाएको थियो ।

‘श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समिति समक्ष लेखी आएको थियो,’ सूचनामा भनिएको छ, ‘सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकमको यस समितिको वेबसाइटमा गई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाईन मागदावी आवेदन मार्फत स–प्रमाण दाबी पेस गर्नु आह्वान गरिएको छ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत २०८०, शुक्रबार १४ : २२ बजे