राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् ।उनले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम निर्वाचन हुने बताए।

उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

सत्ता गठबन्धनमा माओवादीले अध्यक्ष लिएपछि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो। तर, नेकपा एकीकृत समाजवादीले पनि उपाध्यक्षमा दाबी गरेपछि यो विषय सहमतिबाट हटाइएको थियो । अहिले एमाले र नेकपा एस दुवैले राष्ट्रियसभाको उपाध्यक्ष आफैंले पाउने दाबी गर्दै आइरहेका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९–८१ सभा समक्ष प्रस्तुत गरिन् । त्यसअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराए ।

राष्ट्रिय सभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ चैत २०८०, बुधबार १५ : ५६ बजे