लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि अपराह्न ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीअनुसार मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २९, नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार–चार जना सदस्य छन् । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् ।

यस्तै जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत २०८०, बिहीबार १३ : २४ बजे